५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

फाइल तस्बिर।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए। नेपाली कांग्रेस, जसपा र माओवादीले बेग्लै गठबन्धन बनाइसकेको र एमालेको मात्रै प्रयासले राष्ट्रपति हुन नसक्ने ठानेर नेपाल ओलीको प्रस्तावमा मौन बसेका हुन्।  

ओलीले महाराजगन्जस्थित एक घरमा नेपालसँग भेट गरेका थिए। प्रधानमन्त्री दाहालसँग कुराकानी गरेर बालुवाटारबाट निस्केका ओली सोझै नेपाललाई भेट्न महाराजगन्जस्थित एक निजी घरमा पुगेका थिए। ओलीसँगको वार्तामा अलमलिएका कारण नेपाल कांग्रेस, माओवादीसहितको बालुवाटार बैठकमा केही ढिलो पुगेका थिए। बालुवाटार बैठकपछि मात्रै जबाफ दिन सकिने भन्दै नेपाल ओलीसँग बिदा भएका थिए। ओलीले केही दिनअघि पनि नेपाललाई भेटेर राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए।

बालुवाटारमा शुक्रबार बिहान बसेको माओवादीसहित चार दलको बैठकमा निर्वाचनअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भइसकेकाले पनि ओलीको प्रस्तावमा नेपाल मौन बसेका हुन्। एमाले पुस १० गते माओवादी केन्द्रसँग भएको सहमतिअनुसार राष्ट्रपति आफूले प्रस्ताव गरेको उम्मेदवार हुनुपर्ने अडानमा छ। यही विषयमा ओलीले प्रधानमन्त्री दाहालसँग पटकपटक छलफल गरेका छन्। तर दाहालले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएका छन्।

वाम ध्रुवीकरण राष्ट्रपति निर्वाचनपछि  

राष्ट्रपति निर्वाचनका क्रममा माओवादी केन्द्र र नेकपा एसले वाम ध्रुवीकरणको प्रस्ताव अघि सारे पनि एमालेले अस्वीकार गरेको छ। अहिले राष्ट्रपतिकै निर्वाचनमा लाग्नुपर्ने भन्दै एमालेले तत्काललाई वाम ध्रुवीकरणको प्रस्ताव अस्वीकार गरेको हो। ‘हामीले माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि माओवादी केन्द्रले वाम ध्रुवीकरणको कुरा उठायो। त्यसलाई अस्वीकार गरिएको होइन। राष्ट्रपतिको निर्वाचनपछि कार्ययोजना बनाएर पार्टी एकीकरणसम्मको विषयलाई अघि सारौं भनेका हौं। उहाँहरू एमालेसँग गठबन्धन टुटाउन लाग्नुभयो,’ एमालेका एक पदाधिकारीले भने।  

एकपटक माओवादी केन्द्र र एमाले एकीकरण भई नेकपा बनेको थियो। त्यस क्रममा ठूलो विग्रह आएपछि दुवै पार्टी साबिक अवस्थामा फर्किएका थिए। अहिले फेरि वाम धु्रवीकरण र पार्टी एकीकरणसम्मको प्रस्ताव अघि सारिएको छ। एमाले पदाधिकारीले अहिलेको अवस्थामा सत्ता गठबन्धन टुटाउनका लागि मात्रै यस्तो प्रस्ताव आएको निष्कर्ष निकालेका छन्। उनीहरूले साँच्चिकै प्रस्ताव आएको भए अहिले एमालेले अघि सार्ने उम्मेदवारलाई राष्ट्रपति बनाउने र त्यसपछि कार्ययोजना बनाएर गठबन्धन र पार्टी एकीकरणसम्म जान सकिने बताएका छन्। ‘राष्ट्रपति निर्वाचन नै त्यसको आधार हो, आधार बनाउने काममा लाग्नुपर्छ’, एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘हामीले त माधव नेपाललाई राष्ट्रपनि बन्नुस् भनेकै छौं नि।’

दाहालको दोहोरो भूमिका  

राष्ट्रपति निर्वाचनमा उम्मेदवार तोक्ने विषयमा प्रधानमन्त्री दाहालले दोहोरो मापदण्ड अपनाएका छन्। ओलीले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि दाहालले बिहीबार तीन दल (माओवादी केन्द्र, जसपा र नेकपा एस) को बैठक राखे। उनले बैठकमा नेपाललाई उम्मेदवार बनाउने र त्यसका लागि कांग्रेससँग संवाद गर्ने निर्णय गराए। त्यसअघि ओलीनिवास बालकोटमा नेपाललाई उम्मेदवार बनाउने र अन्य दलहरूको सहयोग लिन छलफलको तयारी भइरहेकै अवस्थामा सूचना चुहिएपछि दाहालले कांग्रेससँग संवाद थालेका थिए। ‘जसपालाई एमालेले उपराष्ट्रपति बन्न गरेको प्रस्तावको सूचना चुहिएपछि कांग्रेसले पनि जसपालाई सोही प्रस्ताव गर्‍यो, जसले गर्दा माओवादीले नेपाललाई राष्ट्रपति नदिने रणनीति तय गर्दै कांगेसलाई बालुवाटारमा इन्ट्री गरायो’, नेकपा एसका एक नेताले भने, ‘नेपाललाई राष्ट्रपति नबनाउन माओवादी आफैं लाग्यो।’

एमालेप्रति अविश्वास  

एमाले अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि सो दलका नेताहरू निकै सशंकित बने। विगतमा एमालेका नेताहरूले कुनै पनि हालतमा नेपाललाई सहयोग गर्न नसक्ने अभिव्यक्ति दिएका थिए। यस्तो अवस्थामा नेपाल एमालेप्रति ढुक्क बन्न नसकी उनले कांग्रेस र माओवादी दुवैको समर्थन खोजे। एमालेका आठ संघीय सांसद र १५ प्रदेशसभा सदस्यले आफूलाई मत नहाल्ने रिपोर्टिङ उनीसँग पुग्यो। त्यसपछि नेपाल र उनको दलका नेता ओलीको प्रस्तावप्रति झन् संशकित बने। ‘माधव नेपालप्रति एमालेका केही सांसद र केही पदाधिकारी सकारात्मक बन्न सकेको अवस्था छैन, जसले गर्दा विश्वासको वातावरण बन्न सकेको छैन’, नेकपा एस प्रचार विभागप्रमुख जगन्नाथ खतिवडाले भने।  

नेपाल उम्मेदवार भए एमालेको समर्थन  

नेकपा एसका अध्यक्ष नेपालले राष्ट्रपतिमा उम्मेदवारी दिए एमालेले समर्थन गर्ने भएको छ। एमाले उपमहासचिव गुरुङले नेपाल राष्ट्रपतिको उम्मेदवार भए पार्टीले उम्मेदवारी नदिने बताए। ‘अहिलेसम्म को राष्ट्रपति हुन्छ भन्ने टुंगो नभएकाले माधव नेपालले राष्ट्रपतिमा उम्मेदवारी दिए एमालेले सहयोग र समर्थन गर्ने कुरा भइरहेको छ’, सुब्बाले भने। उनले राष्ट्रपतिका विषयमा शनिबार बिहान ९ बजे बस्ने सचिवालय बैठकले आधिकारिक निर्णय गर्ने बताए।

प्रकाशित: १३ फाल्गुन २०७९ ००:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App