१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महाअभियोगबारे कांग्रेसलाई जानकारी छैनः प्रमुख सचेतक श्रेष्ठ

चिनकाजी श्रेष्ठ।

काठमाडौं– सत्तारुढ दल नेपाली काग्रेसले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा बुधबार दर्ता भएको महाअभियोग प्रस्तावबारे आफूलाई जानकारी नभएको बताएको छ। बुधबार साँझ सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल एमालेका एक सय ५७ जना सांसदले अख्तियार प्रमुख कार्की विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव गर्दा गराएका थिए।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले अख्तियार प्रमुख कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे आफ्नो दललाई कुनै जानकारी नभएको बताए। ‘महाअभियोग प्रस्तावबारे हाम्रो दललाई कुनै जानकारी छैन,’ प्रमुख सचेतक श्रेष्ठले नागरिकन्युजसँग भने,‘यस विषयमा कुनै पनि दलले कांग्रेससँग छलफल गरेका छैनन्।’ उनले महाअभियोगका विषयमा सभापति शेरबहादुर देउवाबाट कुनै निर्देशन पनि नआएको बताए।

एमाले र माओवादी केन्द्रका सांसदले महाअभियोग प्रस्ताव गर्दा गराएपनि कांग्रेस सांसदहरुको हस्ताक्षर छैन। महाअभियोगबारे आजै बस्ने संसद बैठकमा छलफल हुने बताइएको छ। तर, कांग्रेसले भने संसद बैठकमा सो प्रस्तावमाथि छलफल हुने नहुने विषयमा आफूलाई जानकारी नभएको बताएको छ। ‘संसदमा छलफल हुने विषयपनि हामीलाई जानकारी छैन,’ श्रेष्ठले भने,‘यो विषयमा कांग्रेसलाई कुनै जानकारी छैन।’ आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सो विषयमा छलफल हुनसक्ने श्रेष्ठले बताए।
तर, कांग्रेस सांसद रामहरि खतिवडाले संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिने बताए। उनले अख्तियार प्रमुखले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम आफैं गर्न खोजेको भन्दै महाअभियोगको प्रस्तावमाथि कांग्रेसले भाग लिने बताए।

 

प्रकाशित: ४ कार्तिक २०७३ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App