२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ का जिल्लाहरुमा 'वास प्लान्ट' योजना सुरु गर्ने ऊर्जा मन्त्री मेन्याङ्वोको घोषणा

प्रदेश १ सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वोले प्रदेश १ का १४ जिल्लाका कम्तीमा दुई–दुई वटा पालिकाम 'वास प्लान्ट’ योजनाको घोषणा गरेका छन्।

खानेपानीको स्रोत देखि खानेपानीको समस्यासम्मका विषयको विस्तृत प्राविधिक अध्ययन प्रतिवेदन तयार गरी दीर्घकालीन योजना बनाउने उद्देश्य सहित ‘वास प्लान्ट’ योजना अघि बढाउन लागेको मन्त्री मेन्याङ्वोले जानकारी दिए। 

प्रेस चौतारी नेपाल ताप्लेजुङले बिहीबार सदरमुकाम फुङलिङस्थित होटल पाथीभराको सभा हलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मेन्याङ्वोले उक्त योजनाको घोषणा गरेका हुन्। उनका अनुसार पहिलो चरणमा प्रदेश १ का १४ जिल्लाका प्रत्येक दुई–दुई वटा पालिकामा यस्तो योजना अघि बढाइने छ। त्यस पश्चात् क्रमगत रूपमा प्रदेशभरिका सबै पालिकाहरूलाई योजनामा समेट्ने लक्ष्य रहेको समेत उनले सुनाए। 

पहिलो चरणमा ताप्लेजुङको फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकामा वास प्लान्ट योजना सुरु हुनेछ। ताप्लेजुङ बाहेक प्रदेश १ का अरू १३ जिल्लाका दुई–दुई वटा पालिकामा यस्तो योजना अघि बढ्ने उनले जानकारी दिए। 

मेन्याङ्वोका अनुसार योजनामा समावेश भएका पालिकामा प्राविधिकहरूको टोली खटाई खानेपानीको तत्कालीन तथा दीर्घकालीन समस्या,पानीका उपलब्ध स्रोतहरू, स्रोतको तत्कालीन अवस्था र उपयोगिताका आधार, खानेपानी ट्याङ्की, सो पालिकाभरिमा उपयोगका लागि चाहिने पानीको परिमाण र पानी उपलब्धताका लागि चाहिने अन्य संरचना तथा पूर्वाधार समेतको अध्ययन हुने उनले बताए।

‘पानी मात्र नभएर पानी उपयोग गर्न योग्य र गुणस्तरीय समेत हुनुपर्छ भन्ने ध्येय सहित योजना अघि बढाइएको हो’ पत्रकार भेटघाट कार्यक्रममा उनले भने। प्राविधिक प्रतिवेदन प्रदेश सरकारको सम्पत्तिको रूपमा रहने र त्यहीँ प्रतिवेदनका आधारमा गुणस्तरीय खानेपानी प्रवाहको योजना अघि बढ्ने मन्त्री मेन्याङ्वोले जानकारी दिए। 

उनले तीन तहका सरकारले अब विद्युतीय सवारीको खरिद र प्रवर्द्धनका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए। बिद्युत्को प्रबल सम्भावना रहेको नेपालमा बिद्युत्को खपत समेत हुने गरी सरकारले विद्युतीय सवारीको प्रयोग र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो। 

पेट्रोलियम पदार्थको खपत घटाउन तथा बिद्युत्को खपत बढाउने योजना अघि सार्नुको विकल्प नरहेको बताउँदै उनले आफ्नो मन्त्रालयले त्यहीँ योजना अनुरूप विद्युतीय सवारीको चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको समेत मेन्याङ्वोले बताए। वैदेशिक व्यापार घाटा नियन्त्रणको एक मजबुत उपाय विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्द्धन हुने उनको विश्वास थियो। 

मन्त्री मेन्याङ्वोले मन्त्रीको पदभार ग्रहण गरेकै दिन प्रदेश १ का उपयुक्त स्थानहरूमा विद्युतीय चार्जिङ स्टेसन निर्माण सुरु गर्ने निर्णय गरेका थिए। मन्त्री मेन्याङ्वोले जतिसक्दो चाँडो प्रदेशको नामाकरण गर्ने गरी सरकारले संसदलाई बिजनेस दिने तयारी गरिरहेको समेत जानकारी दिए। त्यसका लागि संसद् भित्र र बाहिर रहेका दलहरूसँग समेत संवाद र सहकार्य अघि बढाउने प्रदेश सरकारको तयारी रहेको उनले बताए। 

विगतमै भइसक्नुपर्ने प्रदेश सरकारको नामाकरणको विषय अहिलेको सरकार र सदनको प्रमुख प्राथमिकताको विषय भएको मन्त्री मेन्याङ्वोले बताए। एमाले पोलिटब्युरो सदस्य समेत रहेका मेन्याङ्वोले एमालेले सुरु गरेको ‘मिसन ग्रास रुट’ अभियानले पार्टीको अवस्था अहिले भन्दा बढी सशक्त,क्रियाशील र सुदृढ हुने विश्वास लिए। 

पत्रकार भेटघाट कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्धय श्रीप्रसाद जवेगु र खगेन्द्र राई सहितका नेताहरू उपस्थित थिए।

प्रकाशित: ११ फाल्गुन २०७९ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App