प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच वर्षसम्मै आफू प्रधानमन्त्री भइरहने रणनीतिअन्तर्गत नयाँ राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गर्नुपर्ने अवधारणा अघि सारेर सत्ता साझेदार नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग ‘बार्गेनिङ’ गरिरहेका छन्।
दाहालको यो रणनीतिले सत्ता साझेदार एमाले झस्किएको छ। दाहालले दुई दलीय सहमतिभन्दा बाहिर गएर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अवधारणा अघि सारेपछि एमाले सशंकित बनेको छ। दाहाल सहमतिविपरीत जान खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा परेका छन्।
गत पुस १० गते नेकपा माओवादी र एमालेबीच प्रधानमन्त्री र सभामुख पालैपालो हुने र राष्ट्रपति एमालेले पाउने सहमति भएको दाबी गरिएको छ। सोही सहमतिअनुसार दाहाल पहिलो अढाई वर्षका लागि प्रधानमन्त्री भएकाले राष्ट्रपति एमालेले अघि सार्ने उम्मेदवार हुनुपर्ने अडानमा एमाले छ। प्रधानमन्त्री दाहालले भने आफूलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अवधारणा अघि सार्दै आएका छन्। स्रोतका अनुसार दाहालले पाँच वर्षसम्म आफू नै प्रधानमन्त्री हुन राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अवधारणा अघि सारेर एमाले र कांग्रेससँग समानान्तर छलफल गरिरहेका छन्। अहिलेको अवस्थामा माओवादीले जसलाई समर्थन गर्छ उही राष्ट्रपति हुन्छ। यसैको फाइदा उठाएर दाहाल पाँच वर्षसम्म प्रधानमन्त्री बन्न चाहन्छन्।
एमाले अध्यक्ष ओलीले पुस १० गतेको सहमतिअनुसार चल्नुपर्ने अडान राखेपछि उनलाई दबाब दिन दाहालले सर्वदलीय बैठक डाक्ने तयारी गरेका छन्। आफ्नो चाहना परिपूर्तिका लागि अनुकूल वातावरण बनाउन दाहालले सर्वदलीय बैठकको तयारी गरेका हुन्। प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘सर्वदलीय बैठक बोलाउने योजना उहाँको छ।’ एमाले जसरी पनि आफ्नो उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडानमा छ।
एमालेको अडान पूरा हुन नदिन प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेस वर्तमान सत्ता गठबन्धन भत्काएर चुनावअघिको गठबन्धन पुनर्जिवित गर्न चाहन्छ। कांग्रेस र एमालेको आआफ्नै स्वार्थमा खेलेर दाहाल पाँच वर्षसम्म आफू प्रधानमन्त्री हुने वातावरण बनाउन प्रयासरत रहेको स्रोत बताउँछ।
नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई माओवादीले सहयोग गर्ने विश्वासमा छ। कांग्रेसका नेताहरू पनि प्रधानमन्त्री दाहालसँग निरन्तर सम्पर्क र संवादमा छन्। दाहालको पाँच वर्ष निरन्तर कार्यकारी प्रमुख हुने चाहनामा कांग्रेस केही लचिलो देखिएको छ। तीन दिनअघि नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धन तोडेर आए माओवादी अध्यक्ष दाहाललाई पाँच वर्ष प्रधानमन्त्री दिन सकिने बताएका थिए। महत कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट हुन्। महतले सार्वजनिक रूपमा उक्त कुरा बताएपछि दाहाल एमालेसँगको गठबन्धन कायम राख्ने कि तोडेर कांग्रेससँग नयाँ सहकार्य गर्ने भन्ने दोधारमा परेको स्रोतले बतायो। ‘परिस्थिति बिग्रिए दुवैतिर (एमाले र कांग्रेस)बाट पछि धोका हुने हो कि भन्ने भय पनि छ’, माओवादीका एक पदाधिकारीले भने।
राष्ट्रपति निर्वाचनको विषयलाई लिएर बिहीबार र शुक्रबार भएको छलफलमा दाहालले एमाले अध्यक्ष ओलीसँग अहिलेकै सरकारलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका थिए। तर ओलीले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनपुर्ने अडान राखेका थिए। ओलीले आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै एमालेकै नेता नयाँ राष्ट्रपति बन्ने ठोकुवा गरेका छन्। एमालेका पदाधिकारीले पनि पुस १० को सहमतिभन्दा बाहिर जान नहुने अभिव्यक्ति दिँदै आएका छन्। प्रधानमन्त्री निवास बालुवाटार सम्बद्ध स्रोतका अनुसार ओलीसँगको पछिल्लो भेटमा दाहालले आफूलाई पाँच वर्ष सत्ता चलाउन दिनुपर्ने र त्यसको बद्लामा राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्ने प्रस्ताव राखेका थिए। ओलीले सहमतिबाट दायाँबायाँ गर्न नहुने बताइरहेका छन्।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले एमालेलाई साथ दिने अवस्था छ। जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी दोधारमा छन्। नागरिक उन्मुक्तिले रेशम चौधरीलाई जेलबाट मुक्ति दिनुपर्ने सर्तमा सरकारलाई समर्थन गरे पनि उसको माग अझै पूरा भएको छैन। राष्ट्रपति निर्वाचनमा निर्णायक देखिएको माओवादी जसरी पनि एमालेलाई दबाबमा राखेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न तल्लीन छ।
दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अवधारणा अघि सारेपछि ओली तनावमा परेका छन्। ‘सहमतिको राष्ट्रपति हुनुपर्ने दाहालको प्रस्तावले ओलीलाई तनाव दिएको छ एमालेका एक पदाधिकारीले भने, ‘यसपटक ओलीले दाहाललाई सहयोग गरेकै हुन्, पछिसम्म सहयोग गर्ने ओलीको चाहना छ तर माओवादीले धोका दिए नेपाली राजनीतिमा अर्को खतरनाक खेल हुन सक्छ।’
प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्र स्थायी कमिटीको माघ १२ देखि २१ गतेसम्म काठमाडौंमा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय गरेको थियो। यही निर्णयमा टेकेर दाहाल आफूअनुकूल राष्ट्रपति बनाउने र पाँच वर्ष प्रधानमन्त्री हुन चाहन्छन्। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पनि कुनै हालतमा राष्ट्रपति एमालेलाई दिन नहुने अडानमा छन्। कांग्रेस र नेकपा एकीकृत समाजवादीको अडान पनि एमालेलाई दबाबमा राख्न दाहालका लागि अस्त्र बनेको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पुस १० को सहमतिबाट सत्ता गठबन्धनका कुनै पनि दल बाहिर जान नहुने बताउँछन्। ‘एमाले पुस १० गतेको सहमतिमा कायम छ, गठबन्धनमा रहेका अन्य दल पनि सहमत छन्। त्यो सहमतिभन्दा बाहिर जाने अवस्था छैन’, उनले भने। माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल अहिलेसम्म सरकार साझेदार दलहरूबीच समझदारीमै काम हुँदै आएकाले राष्ट्रपति पनि समझदारीमै चयन हुने बताउँछन्। ‘राष्ट्रपतिमा साझा व्यक्ति खोज्ने भनेको एमालेलाई टाढा राखेर होइन, ऊसहितको साझा व्यक्ति खोज्ने हो। त्यसकारण गठबन्धन बाहिर जाने वा भत्किने भन्ने कुरा छैन’, उनले भने। नयाँ राष्ट्रपतिको विषयलाई लिएर सत्ता पक्षमा किचलो उत्पन्न भए गठबन्धन नै धरापमा पर्ने आकलनसमेत गर्न थालिएको छ।
प्रकाशित: ८ फाल्गुन २०७९ ००:४१ सोमबार




-600x400.jpg)
