५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईलाई कारबाही सिफारिस, बागी विद्रोहीलाई पनि पार्टीबाट बिदा गरिने

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारबाही गर्न एमाले प्रदेश १ कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। 

एमाले प्रदेश १ कमिटीले शनिवार विराटनगरमा मिसन ग्रासरुढ अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको जानकारी दिइएको हो।

प्रसाईँले केही दिन पहिले पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर झापामा कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्।

एमालेले प्रदेश कमिटीका निष्क्रिय सदस्यहरू र निर्वाचनमा बागी विद्रोही उम्मेदवारहरूलाई पनि कारबाही गर्ने जनाएको छ। नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले पार्टी विरोधी गति विधि गरेका,पार्टीको विभिन्न कमिटीहरूमा जिम्मेवारी लिएका तर, निष्क्रिय रहेका, निर्वाचनमा बागी, विद्रोही उम्मेदवार बनेकाहरूलाई पार्टीबाट बिदा गर्ने तयारी गरिएको जानकारी दिए।

पार्टीका प्रदेश १ इन्चार्ज राजेन्द्र गौतमले पार्टीमा इमानदार सदस्यहरू थप गर्न प्रदेशका सबै जिल्ला, नगर, गाउँ र वडाहरूमा सदस्यता शिविर सञ्चालन गर्ने तयारी गरिएको बताए।

आगामी निर्वाचनमा ५१ प्रतिशत जनमत पुर्‍याउन एमालेले देशैभर मिसन ग्रासरुढ अभियान सञ्चालन गरेर समाजमा लब्ध प्रतिष्ठित व्यक्तिहरू, युवा, समाजसेवीहरूलाई पार्टीमा भित्राउने योजना अघि सारेको गौतमले जानकारी दिए।

गौतमले अभियानका लागि प्रदेश कमिटीका सदस्य तथा पदाधिकारीहरूलाई पालिकामा जिम्मेवारी तोकेर खटाइएको बताए। दुई महिना सम्म सञ्चालन हुने अभियानमा  प्रदेश १ मा १ लाख ७० हजार सदस्यको सदस्यता नवीकरण गर्ने र ठुलो संख्यामा सदस्यता वितरण गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रकाशित: ६ फाल्गुन २०७९ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App