१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति चुनावले कांग्रेसमा एकता

‘हाम्रो संविधानले परिकल्पना गरेको शासकीय स्वरूप बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली हो। नेपाली कांग्रेसले स्थापनाकालदेखि नै यसलाई आफ्नो राजनीतिक दृष्टिकोणका रूपमा लिँदै यसका लागि संघर्ष गर्दै आएको छ। यो प्रणालीको ध्येय र संसद्को गरिमा जोगाउनु हाम्रो पार्टीको कर्तव्य हो, जिम्मेवारी हो।

यसका लागि सदनमा सशक्त प्रतिपक्ष आवश्यक छ। सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको त्यो गहन भूमिका निर्वाह गर्न सक्दैन र त्यो नैतिक धरातल पनि रहँदैन। संविधानले नै यस्तो अभ्यासको परिकल्पना गरेको छैन। यो राजनीतिक, संवैधानिक, व्यावहारिक र नैतिक दृष्टिकोणले पनि अस्वाभाविक छ ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिने निर्णय लिन गत पुस २६ गते बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले राखेको फरक मतको अंश हो यो।

तर कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर पुस १० गतेको अवस्था ‘करेक्सन’ गर्न चाहन्थे। त्यसैले देउवाले पार्टी कार्य सम्पादन र संसदीय दलको बैठकबाट दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिने निर्णय गराए। माओवादीसँगको सम्बन्ध सुधार गर्दै प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको गठबन्धनलाई फेरि निरन्तरता दिने चाहनाअनुरूप देउवाले यस्तो निर्णय गराएका हुन्। देउवाको यही चाहनाको आकलन गर्दै सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिनेक्रममा प्रतिनिधिसभा बैठकमा कांग्रेसलाई सत्ताको ढोक्सा (जाल) नथाप्न भनेका थिए। कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने पनि ओलीले बताएका थिए।

तर नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रमुख सत्ता साझेदार एमालेबीचको सम्बन्धमा चिसो बढ्दै गएको छ। दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा कांग्रेसमा करिब एक महिनाअघि देखिएको मतभिन्नता अहिले कम हुँदै गएको छ। आइपुगेको राष्ट्रपति निर्वाचनका कारण मतभेद साँघुरिँदै गएको एक नेताले बताए।

पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई विश्वासमा लिएर नयाँ राष्ट्रपति कांग्रेसको पक्षमा पार्ने रणनीतिमा जुटेका छन्। पार्टीभित्रका आन्तरिक विवाद थाती राखेर कांग्रेस नेताहरू माओवादी केन्द्रलाई विश्वासमा लिन सक्रिय भएका छन्। महामन्त्रीद्वय थापा र शर्मा मात्र होइन, अन्य नेताले पनि पार्टीले अघि सारेको उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने बताउँदै आएका छन्। उनीहरू प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालसहितका नेताहरूसँग वार्ता र छलफलमा पनि जुटेका छन्।

कांग्रेसमा सभापति देउवासहित संस्थापन पक्षको निर्णयलाई इतर पक्षले नमान्ने भयमा रहेका दाहाललाई आश्वस्त पार्न इतर पक्षका नेताहरू नै लागेका छन्। पार्टीभित्रको आन्तरिक विवाद बाहिर आउन नदिन गुटगत मात्र होइन, केन्द्रीय समितिको बैठकसमेत स्थगित गरेर कांग्रेस नेताहरू वार्ता र संवादमा जुटेका छन्। ‘पार्टी सञ्चालन र निर्वाचनसहितका विषयलाई लिएर तीव्र असन्तुष्टि र मतभेद छन्,’ कांग्रेस एक नेताले भने, ‘त्यसलाई थाती राखेर सबैको ध्यान अहिले राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। अन्य दलहरूलाई विश्वासमा लिएर अघि बढ्ने प्रयासमा छौं।’

दाहाल नेतृत्वको सरकारलाई नै पाँच वर्ष चल्न दिएर भए पनि पुरानो गठबन्धनलाई ब्युँताउन कांग्रेस नेताहरू प्रयासरत छन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले सघाए प्रधानमन्त्रीमा दाहाललाई दिएको विश्वासको मत पाँच वर्षसम्म रहिरहने दाबी गरे। ‘राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई माओवादीले समर्थन गर्दा हाम्रो पार्टीले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ,’ महतले एक कार्यक्रममा भने, ‘यो संविधान रक्षा गर्ने पक्षधर पार्टीहरू एक ठाउँमा उभिएर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी बनाउनुपर्छ।’

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै एमाले अध्यक्ष ओलीलाई पुस १० गतेको अवस्थामा परिवर्तन आएको बताउँदै आएका छन्। उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका छन्। एमाले अध्यक्ष ओलीले पुस १० गतेको सहमतिमा अडिन दाहाललाई आग्रह गर्दै आएका छन्।

दाहाल र ओलीबीच राष्ट्रपति निर्वाचनलाई लिएर बढ्दै गएको अविश्वास हटाउन नेताहरू निरन्तर सम्वादमा छन्। तर, दुवै पार्टीका नेता आआफ्नो अडानमा कायमै रहेको निकट स्रोतको दाबी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दुई घण्टा छलफलमा जुटेका दाहाल र ओली, शुक्रबार ओली निवास बालकोटमा त्यसरी नै संवादमा बसे। ओलीसँगको भेटपछि प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचन आउन अझै समय बाँकी भएकाले अहिले कुनै निर्णयमा पुगिनसकेको बताए। आफू सात दलीय गठबन्धनमा रहेकाले समय आएपछि एउटा बिन्दुमा पुग्ने उनले बताए।

एमाले अध्यक्ष ओली सकेसम्म माओवादीलाई पूर्वसहमति कार्यान्वयन गर्न दबाब दिने रणनीतिमा छन्। राष्ट्रपति आफ्नो पक्षमा पार्न ओलीले दाहाललाई पाँच वर्ष नै प्रधानमन्त्रीको आश्वासन दिन पनि सक्ने निकट स्रोतको दाबी छ। निकट स्रोतले भन्यो, ‘त्यस्तो अवस्थामा ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव गर्न पनि सकिन्छ।’

एमालेभित्र चीनका लागि नेपालका पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेसहितको नाम नयाँ राष्ट्रपतिका लागि चर्चामा ल्याइएको छ। आफू अनुकूल राष्ट्रपति बन्ने अवस्था नभए ओली लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने पक्षमा रहेको निकट स्रोतको दाबी छ। सोहीअनुसार ओलीले ठाकुरसँग केही दिनअघि छलफल गरेका थिए। दक्षिणी छिमेकी भारतको चाहना पनि ठाकुर रहेको स्रोतको दाबी छ।

कांग्रेस र एमाले निकट राष्ट्रपतिले विगतमा लिएका निर्णयबाट झस्केको माओवादी नयाँ राष्ट्रपतिमा दलबाहिर रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगानाजस्ता पात्र खोज्ने पक्षमा देखिएको छ। दाहाल कांग्रेस सभापति देउवा राष्ट्रपति भए आफूलाई थप सहज हुने बुझाइमा रहेको निकट स्रोतको दाबी छ। त्यस्तो अवस्था आए देउवालाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसमा एक चरण छलफलसमेत भएको छ। पार्टीमा नयाँ नेतृत्व जस्ता विषय उठेका कारण देउवा राष्ट्रपति हुनबाट पछि हटेको निकटको दाबी छ। देउवाले राष्ट्रपतिको चाहना राखेमा उनै उम्मेदवार बन्न सक्ने एक नेताले बताए। देउवाको विकल्पमा नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्वसभामुख ढुंगानालाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेस तयारी छ।

प्रकाशित: ६ फाल्गुन २०७९ ००:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App