९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

‘राष्ट्रपतिमा माओवादीले सघाए पूर्ण कार्यकाल प्रधानमन्त्रीमा दाहाललाई कांग्रेसले सघाउने’

फाइल तस्बिर

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका छन्।  

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने बताए। महतले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपति पद महत्वपूर्ण भएको बताए।

उनले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भएको उल्लेख गरे। ‘राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमालेले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर काँग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न गर्नुपर्छ’, डा. महतले शुक्रबार सञ्चारकर्मीहरुसँग भने।

उनले राष्ट्रपति नेपाली काँग्रेसको हुने वा नहुने भन्नेकुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्नेकुरा प्रमुख रहेको पनि बताए। डा. महतले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको बताए।

‘कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुन्छ। संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ। किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन। एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहिलो बैठकमा नै संसद विघटनको विषयलाई मुल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ। राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ’, उनले भने।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताएका हुन।

प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने पनि उल्लेख गरे।

उनले भने, ‘गठबन्धनमा खास गरेर नेकपा (माओवादी केन्द्र) र यसको नेता प्रधानमन्त्री प्रचण्डजी त्यस बेलामा संविधान रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली काँग्रेस नेतृत्वमा गठबन्धन बनेको हो। उहाँहरुले नै त्यो कुरा अघि सार्नुभएको हो। अहिले पनि त्यो विषय हाम्रा लागि प्रमुख विषय हो भनैर प्रचण्डजीले भन्नुभएको छ । त्यसै आधारमा नेपाली काँग्रेसले विश्वासको मत दिएको हो । नेपाली काँग्रेसको राष्ट्रपति हुने वा नहुने भन्ने विषयमा मात्रै यो विषय सिमित छैन। संविधानको विषयमा कुन पार्टी कहाँ उभिने ? भन्ने विषय छ।’

उनले सबैभन्दा ठूलो दल बाहिर हुनु नै बिडम्वना भएको पनि बताए। ‘कुनैपनि दलको बहुमत नआउने निश्चित बहुमत नआउने अवस्थामा तेस्रो, चौथो पार्टी निर्णायक हुने अवस्था छ’, डा.महतले भने।

प्रकाशित: ५ फाल्गुन २०७९ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App