१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔं: महामन्त्री थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब दिनुपर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब दिनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्,'सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिऊँ। यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।'

'आज फेरि बिदा! पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि। झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो!,' उनले लेखेका छन्।

उनले न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिने उल्लेख गरेका छन्। नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित भएको उनले लेखेका छन्।  

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्धलाई दिवसको रूपमा सरकारी बिदा दिएसँगै आलोचना भइरहेको छ।

प्रकाशित: १ फाल्गुन २०७९ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App