४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयमा असन्तुष्टि

सरकारको भोलि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णयमा मन्त्रीपरिषद्कै सदस्य सहित केहीले असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध सुरु भएको दिनमा देशै भरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गठबन्धन सरकारमा एमालेबाट मन्त्री बनेका मन्त्रीपरिषद्का सदस्यद्धय परराष्ट्रमन्त्री विमला पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले यो निर्णय प्रति असन्तुष्टि जनाएका छन्।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको यो निर्णय आपत्तिजनक भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत उनले लेखेका छन्  '२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरू गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक छ। हजारौँ निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन। राजा र हिन्दु राष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ।'

त्यस्तै गरी सांसद रामहरि खड्काले पनि ट्विटर मार्फत भनेका छन् 'अति भो बिदा, अति। अब विवाह, व्रतबन्ध र सत्य नारायणको पूजा लगाउन अनि श्रीमती माइत जाँदा पनि बिदा देऊ।'

त्यस्तै एमालेका अर्का नेता योगेश भट्टराईले पनि सरकारको यो निर्णय विरुद्ध आपत्ति जनाएका छन्। उनले लेखेका छन् '२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरव स्वरूप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ। अरू सबै यसकै अधिनस्थ हुन्। फेरि अलगअलग बिदा किन? मुलुकलाई अनावश्यक वैचारिक ध्रुवीकरणमा नफसाऔँ।'

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको  बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको थियो। 

यो निर्णयपछि दाहाल नेतृत्व सरकारको चौतर्फी आलोचना भइरहेको छ। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो। सरकारको यो निर्णयको पनि विरोध भएको थियो।

प्रकाशित: २९ माघ २०७९ १७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App