७ वैशाख २०८१ शुक्रबार
राजनीति

धरानको यातायात व्यवस्थापन गर्न कार्यदलले बुझायो प्रतिवेदन, वान वे गर्ने निर्णय

धरानको मुख्य बजार क्षेत्र भानु चोक आसपासमा यातायात व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। 

वडा नं २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा गठित १८ सदस्यीय कार्यदलले शुक्रबार नगर प्रमुख हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनप्रति कार्यदलमै सदस्य रहेका केही यातायात व्यवसायीहरूको असन्तुष्टि भएपनि बहुमत सदस्यहरुको सहमति जुटेपछि नगर प्रमुख साम्पाङलाई बुझाइएको हो। पुस २५ गते गठित कार्यदललाई १० दिनको समय दिइए पनि एक महिना पछि प्रतिवेदन बुझाएको हो। कार्यदलले सम्बन्धित व्यवसायी र सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर नै प्रतिवेदन तयार गरेको वडाअध्यक्ष राईले जानकारी दिए। उनले भने,‘कार्यदलले पटक पटक छलफल गरेकै हो। एक दुई जनाको फरक कुरा रह्यो। तर, यातायातसँगै भानु चोक क्षेत्रको बजार व्यवस्थापन गर्नुपर्छ भन्नेमा सबै एकमत नै छौँ।’

प्रतिवेदन बुझेपछि मेयर साम्पाङसहित कार्यदल तथा सरोकारवालाहरुको बैठकले पहिलो चरणमा वान वे ९एकतर्फी० गर्ने निर्णय गरेको छ भने प्रतिवेदनमा भएका अन्य बिषयहरुलाई क्रमशः कार्यान्वयन गर्दे लैजाने निर्णय गरेको छ। बैठकले तत्काल एकतर्फी गर्न माघ २९ गते सूचना प्रकाशन गर्ने र फागुन ८ गते सोमबारदेखि कार्यान्वयन गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव तथा उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए। उनले भने, ‘प्रतिवेदनमा यातायात व्यवस्थापनको समस्या, समाधानको उपाय र सुझावहरू विस्तृतरुपमा उल्लेख छ। त्यसमध्ये तत्काल पहिलो चरणमा एकतर्फी गर्ने र अन्यलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने निर्णय भएको छ।’

कार्यदलले भानु चोकदेखि लक्ष्मीचोकसम्मबो मुख्य राजमार्गमा अत्यधिक सवारीको चाप भएकोले वान वे गर्न सुझाव दिएको छ। हालसम्म उक्त सडकमा ठुला तथा मझौला सवारीसाधनहरुलाई मात्र एकतर्फी गरिएको थियो। अब भने सम्पूर्ण सार्वजनिक सवारीसाधानहरुलाई एकतर्फी गर्ने निर्णय भएको हो। लक्ष्मी चोकबाट भान चोक आउने सवारीसाधनहरु पृथ्वी चोक, माछाभौडी हुँदै भानु चोकतर्फ आउनुपर्नेछ। 

यस्तै, घण्टाघर दक्षिणका सिटी सफारीहरुलाई स्थानान्तरण गर्ने र आवश्यक सामग्रीहरू ट्राफिकलाई उपमहानगरपालिकाले उपलब्ध गराउने पनि निर्णय भएको छ। ट्राफिक व्यवस्थापनको लागी १५ लाख बराबरको विभिन्न सामग्रीहरू आवश्यक पर्ने पनि प्रतिवेदनमा उल्लेख छ। मेयर साम्पाङले धरानको मुख्य बजार क्षेत्र र सडक अस्तव्यस्त भएकोले व्यवस्थापन गर्न कार्यदलको सुझावलाई क्रमशः कार्यान्वयन गर्दे लैजाने बताए। 

प्रकाशित: २७ माघ २०७९ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App