जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा.सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन्।
बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताएका हुन्।
उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे। अन्य मधेस केन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनको आरोप छ।
“मधेसी जनताको भवनामाथि खेलवाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावना अनुसार अगाडि बढ्छ”, उनले भने।
सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि सङ्घीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिए। सङ्घीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको जिकिर गरे।
प्रकाशित: २४ माघ २०७९ २०:५५ मंगलबार