१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘राजनीतिक परिस्थिति परिवर्तनको सम्भावना छ’

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिलेको राजनीतिक परिस्थिति परिवर्तनको सम्भावना रहेको बताएका छन्। उनले निर्वाचनमा जनतालाई दिएको बचनअनुसार अहिलेको परिस्थितिमा सुधार आउने बताए।  

‘निर्वाचनपछि एउटा हुनु नपर्ने कुरा भएको छ,’ नेपाल शिक्षक संघको सुर्खेतको शनिबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यो परिस्थितिलाई सुधार्न सकिन्छ, निर्वाचनमा जनतालाई दिएको बचनअनुसार लिएर जान सकिन्छ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका खड्काले कांग्रेसका उम्मेदवारलाई कांग्रेसजनले इमान्दारीपूर्वक भोट दिएको भए संघमा १५ र प्रदेशमा २५ सिट धेरै आउने अवस्था रहेको बताए। ‘अन्तरघातका कारण हामीले गएको निर्वाचनमा संघमा १५ र प्रदेशमा २५ सिट हामीले गुमायौं,’ उनले भने, ‘अन्तरघातको अन्त्यका लागि शिक्षक संघले आफ्नो भूमिका निभाउन आवश्यक छ।’

शिक्षकहरूको प्रत्येक टोलटोलमा उपस्थिति रहेको बताउँदै कांग्रेसभित्र झागिँदै गएको अन्तरघातको अपराधिकरण अन्त्यमा शुभेच्छुक संस्थाका हैसियतले शिक्षक संघले भूमिका खेल्नुपर्ने बताए।  

देशमा भएका परिवर्तनका आन्दोलनहरूमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले संघीय सांसदका हैसियतले संघीय शिक्षा ऐन पारित गर्न आफूले पहल गर्ने बताए। ‘शिक्षाका समस्या, शिक्षकका समस्या र विद्यार्थीका समस्य समाधानका लागि शिक्षा ऐन आवश्यक छ,’ खड्काले भने, ‘ढिलोमा एक वर्षभित्र शिक्षा ऐन संसदबाट पारित गराउने प्रतिबद्धता जनाउँदछु।’

संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूतिका लागि संघीय ऐनहरू बनाएर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनका लागि संघीय शिक्षा ऐनसँगै निजामती सेवा ऐन, संघीय प्रहरी ऐनलगायतका ऐनहरू बनाएर कार्यान्वयन गर्नु आवश्यक छ,’ उनले भने, ‘यी ऐन–कानुन कार्यान्वयनमा नआउँदासम्म जनताले संघीयताको अनुभूति गर्न पाउँदैनन्।’

उपसभापति खड्काले शिक्षकका मागहरू विद्यालय, विद्यार्थी र अभिभावकहरूसँग जोडिएको बताउँदै ती माग पूरा गर्नेतर्फ आफू सकारात्मक रहेको बताए। उनले शिक्षकहरूले किताबी ज्ञानका साथै व्यावहारिक र सामाजिक शिक्षामा जोड दिनुपर्ने बताए। उनले जेठभित्र पार्टीको नीति अधिवेशन गर्ने तयारी भइरहेको बताउँदै शिक्षक र शिक्षाका समस्याका बारेमा छलफल हुने बताए।

विपक्षी दलसँग छलफलमा कांग्रेस

नेपाली कांग्रेसले संघीय संसद्मा विपक्षी बेन्चमा रहेका राजनीतिक दलहरूको मोर्चाबन्दी प्रयासलाई निरन्तरता दिएको छ। सत्ता साझेदार दलहरूबीच खटपट भइरहेको बेलामा उसले शनिबार नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीसहितका दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ।  

माघ २३ गते अर्थात सोमबार हुने राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारीका विषयमा उसले अन्य दलहरूसँग छलफल गरेको हो। कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले अन्य दलहरूसँगसमेत छलफल गरेर राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबार टुंगो लगाउने सहमति गरेको छ। राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवारीका विषयमा संघीय संसद्मा विपक्षमा रहेका दलहरूसँग छलफल गरेको जानकारी दिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘उम्मेदवारीका बारेमा एकसरो कुराकानी र विश्लेषण भयो, आइतबार बिहानसम्ममा हामी एउटा निर्णय गर्छाैं।’ प्रतिनिधिसभाको सभामुख र उपसभामुखमासमेत अन्य दलहरूसँगको छलफलपछि कांग्रेसले उम्मेदवारी दिएको थियो। राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट कसले उम्मेदवारी दिन्छ त्यसका आधारमा निर्णय लिने उनीहरूको तयारी छ। राष्ट्रिसभा उपाध्यक्षका लागि आइतबार उम्मेदवारी मनोनयन र सोमबार निर्वाचन गर्ने कार्यतालिका छ।

प्रकाशित: २२ माघ २०७९ ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App