१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

श्रीलंका जाँदै परराष्ट्रमन्त्री, सार्कका विषयमा पनि कुरा गर्ने

फाइल तस्बिर।

परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंका भ्रमणका क्रममा समकक्षीसँगको साइडलाइन बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउने विषयमा छलफल गर्ने बताएकी छन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुअघि मंगलबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा श्रीलंका भ्रमणका क्रममा सार्क सम्मेलनका विषयमा छलफल गर्ने बताएकी हुन्।

परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेपछि बुधबार पहिलो विदेश भ्रमणका रूपमा श्रीलंका जान लागेकी उनले भनिन्, ‘यो भ्रमण र कार्यक्रम सार्कका लागि गरिएको होइन। तर, श्रीलंकामा हुने समकक्षीहरूसँग हुने साइडलाइन बैठकमा सार्क सक्रिय बनाउने विषय पनि हुन्छ नै।’ सन् १९८५ मा क्षेत्रीय सहकार्य र आपसी मेलमिलापका लागि भन्दै सार्कको स्थापना भएको ३८ वर्ष भएको छ। सार्क मुलुकका कतिपय देशहरूबीच बढ्दो दूरीका कारण सन् २०१६ पछि हुनुपर्ने सम्मेलन अहिलेसम्म हुन सकेको छैन। काठमाडौंमा भएको १८औंसम्मेलनपछि २०१६मा इस्लामावादमा हुने तय गरिएको थियो। तर, भारत र पाकिस्तानको बढ्दो दुरीले सम्मेलन प्रभावित हुँदै आएका बेला अफगानिस्तानमा तालिबान सरकार आएपछि सार्क सहभागी देशहरूको प्राथमिकतामा झन् पर्न छाडेको छ।  

श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाल, भारतसहितका देशका विदेशमन्त्रीहरू सहभागि हुँदैछन्। अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्रीले सो विषय उठाउने तयारी गरेकी छन्। भ्रमणका क्रममा श्रीलंकाको समकक्षीका साथै प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि मन्त्री पौड्यालले भेटवार्ता गर्नेछिन् भने त्यहाँ आयोजना गरिएको विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

यसैबीच, मन्त्री पौडेलले तत्कालीन केपी ओली नेतृत्व सरकारले दुई वर्ष अघि तयार गरेको परराष्ट्र नीतिलाई एक चरण छलफल गरेर सानो र छोटोरूपमा प्रिन्ट गरेर नै बाहिर ल्याउने मन्त्रालयको तयारी रहेको जानकारी दिइन्। पासर्पोटसहित मन्त्रालयले दिने अन्य सुविधालाई अझ प्रभावकारी र छिटो तथा छरितो बनाउन विभिन्न प्रयास जारी रहेको पनि उनले बताइन्। आजका लागि आजै टोकन लिने पुरानो व्यवस्था संशोधन गरेर एक महिनासम्मको पालोका लागि टोकन दिने प्रबन्ध गरिएको जनाइएको छ।  

त्यस्तै, विदेशमा रहेका नेपालीले वायोम्याट्रियक लिनका लागि निकै शास्ती पाइरहेको भन्दै त्यसलाई पनि सुधार गर्ने प्रयास भइरहेको मन्त्री पौड्यालले जानकारी दिइन्। ५० हजार भन्दा बढी नेपाली रहेको पोर्चुगलमा तत्कालका लागि मोबाइल टिम पठाउने तयारी भइरहेको पनि उनले बताइन्।

प्रकाशित: १९ माघ २०७९ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App