१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एकालालको फलदायी दुई वर्ष: पार्टी अध्यक्ष, सांसद् र मन्त्री

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ।

नेकपा एमाले मकवानपुरका नेता एकालाल श्रेष्ठका लागि पछिल्लो दुई बर्ष निकै फलदायी रह्यो। उनले यो दुई बर्षको अवधिमा नेकपा एमाले मकवानपुरका अध्यक्ष, बागमती प्रदेश सांसद् र मन्त्री पद प्राप्त गरे। 

२०७७ साल पुसमा पहिलो पटक र २०७८ को पुसमा दोस्रो पटक एमाले मकववानपुरको अध्यक्ष बनेका श्रेष्ठ यस पटकको आम निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए। उनले लोेकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीलाई ८७१ मतले हराउँदै संसद् यात्रा तय गरेका थिए। 

पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका उनले पहिलो प्रयासमै जित हाँसिल गरेका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विस्तार गरेको मन्त्रिपरिषद्मा उनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी गराएका हुन्। अनेरास्ववियुबाट राजनीति सुरु गरेका श्रेष्ठ प्रदेश सांसद् हुने बित्तिकै मन्त्री भएका हुन्। हेटौंडा स्थायी घर भएका श्रेष्ठले मकवानपुरमा बिद्यालय तहबाटै अनेरास्ववियुको राजनीति सुरु गरेका थिए।

 हेटौंडा उपमहानगरपालिका १ चौकीटोलमा २०२७ साउन १७ गते जन्मिएका उनी २०४४ मा सिद्धार्थ मावि पढ्दै गर्दा अनेरास्ववियुमा आबद्ध भए। अनेरास्ववियु जिल्ला कमिटी सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०५२ सालमा जिल्ला अध्यक्ष बने। २०४६ सालको आन्दोलनमा करिब एक महिना जेल समेत परेका थिए। अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय सदस्य, सचिवालय सदस्य, मध्यमाञ्चल प्रमुख समेत भएर काम गरेका उनी २०४९ मा एमालेको हेटौंडा १ नम्बर वडा कमिटी अध्यक्ष भएका थिए। २०६१ सालमा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य भएका थिए। 

०७२ सालमा एमालेको जिल्ला सचिव हुँदै २०७७ पुसमा पार्टीको जिल्ला अध्यक्ष बनेका थिए। नेपाल बुद्धिचाल संघको केन्द्रीय अध्यक्ष समेत भएर काम गरिसकेका छन्। अनेरास्ववियुको विद्यालय कमिटी देखि नै काम गरेको स्मरण गर्दै उनले पछिल्लो दुई बर्षमा देखिने राजनीतिक उपलब्धी हाँसिल भएको स्वीकार गर्छन्। ‘दुई बर्षकै बीचमा सबै पाएको होइन। म विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा निरन्तर लाग्दै आएको छु। यो पटक प्रदेश सांसद्को टिकट पाएँ, जितेँ, मन्त्री पनि बन्ने मौका मिल्यो’, श्रेष्ठ भन्छन्।  

प्रकाशित: १३ माघ २०७९ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App