पूर्व उप–प्रधानमन्त्री तथा सांसद टोप बहादुर रायमाझीले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा गएको बताएका छन्। विगतमा अर्थतन्त्रमाथि संकटका लक्षणहरु देखिएपनि अहिले पूर्ववत् ठाउँमा आउने वातावरण बनेको उनले बताए।
बुधबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै सांसद रायमाझीले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर अगाडि लैजाने कुरामा वर्तमान सरकार गम्भिर ढंगले अगाडि बढेको बताए। अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिन थालेकोले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको उनको भनाई छ।
विगतको सरकारले अर्थतन्त्र सुधारका विषयमा हेलचेक्रयाँइ गरेको भन्दै उनले अहिलेको सरकार आएपछि सबै कुरा ठाउँमा आएको उनले दावी गरे। ‘पहिले पनि हाम्रो सरकार थियो अर्थतन्त्र ठाउँमा थियो,उनले भने,‘बीचमा गठबन्धनको सरकारले हेलचेक्रयाँइ ग¥यो,अहिले फेरि सुध्रिएको छ।’ अब अर्थतन्त्रका विषयमा खुला बहस गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए।
फरक प्रसंगमा बोल्दै नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका नेता रायमाझीले जनताले स्पष्ट बहुमत कसैलाई नदिएकाले मिलिजुली सरकार बनेको बताए। स्पष्ट बहुमत आउँदा आफूहरु सरकार चलाउन असफल भएको भन्दै त्यसको गम्भिर समिक्षा हुनुपर्ने बताए। दुईतिहाइ नजिकको सरकार आफूहरुले सम्हाल्न नसक्दा यो स्थिती सृजना भएको उनको भनाई छ।
पाँच दलीय गठबन्धनको सरकार भन्दा अहिलेको सरकार धेरै सक्षम रहेको भन्दै उनले राष्ट्र र यहाँको अर्थतन्त्र सुधारमा सरकार सफल रहने दावी गरे।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बुधबारदेखि माघ २४ सम्म ‘पाँचौं अर्घाखाँची महोत्सव’ एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ। अर्घाखाँचीको सांस्कृतिक झाँकी, विभिन्न भेषभूषा, नाच तथा बाजागाजासहित मेलाको शुभारम्भ गरिएको हो।
अर्घाखाँचीलाई व्यावसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धन गर्न महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए। १४ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रको भनाइ छ।
मेलामा झण्डै चार सय वटा स्टल राखिएका छन्। कोभिडका कारण विगत दुई वर्ष यता जिल्लामा महोत्सव सञ्चालन हुन सकेको थिएन।
प्रकाशित: १२ माघ २०७९ ०३:१४ बिहीबार