१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मंगलबार कांग्रेस इतर पक्षको भेला, संस्थापन पक्षलाई ‘च्याप्ने’ रणनीति

नेपाली कांग्रेसको इतर पक्षले विगतमा पार्टीले गरेका कमी कमजोरी केलाउन र भातृ संगठनमा आफ्नो उपस्थिती बलियो बनाउन मंगलबार (भोली) बिहान काठमाडौंमा भेला बोलाएको छ। 

इतर पक्षका नेता शेखर कोइरालाले भेला डाकेका हुन्। कांग्रेसको माघ १५ गतेको केन्द्रिय समितिमा संस्थापन पक्षका कमीकमजोरीहरु कसरी उठाउने भन्ने बिषयमा भेला केन्द्रित हुने स्रोतले बताएको छ।

इतर पक्षको भेलाले काँग्रेस केन्द्रिय समितिको माघ १५ गतेका एजेण्डा तय गर्ने बताइए पनि संस्थापन पक्षले गत निर्वाचनमा तय गरेका रणनीति, सरकार बनाउन गरेका असफल प्रयासहरु र भातृ संगठनहरुलाई पूर्णता दिने बिषयमा समेत छलफल गर्ने भएको छ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने संसदीय दलको निर्णय, त्यसबाट सिर्जित परिणामबारे पनि विस्तृतमा छलफल गर्ने र त्यसबाट आएका निष्कर्षसहित १५ गतेको बैठकमा प्रस्तुत हुने हो’, काँग्रेसका एक नेताले भने।

त्यसो त इतर पक्षले पार्टीका भातृ संगठनलाई पूर्णता दिने बिषयमा पनि छलफल गर्ने र ती संगठनमा आफ्नो पक्षको उपस्थितीलाई कसरी सशक्त बनाउने भनेर भेलामा छलफल गर्ने बताइएको छ।  ‘पार्टीले विगतमा गरेका गल्तीहरुको समिक्षा गर्ने र आफ्नो पक्षको उपस्थिती कसरी बलियो बनाउने बिषयमा भेला केन्द्रित हुनेछ’, ती नेताको भनाइ छ। त्यसो त केन्द्रीय समिति बैठक बस्नुभन्दा अघि नै भ्रातृ संगठनहरूलाई पूर्णता दिने तयारी भएको नेताहरूले बताउँदै आएका छन्।

इतर पक्षबाट कांग्रेस संसदीय दलको निर्वाचनका बेला महामन्त्री गगनकुमार थापालाई उम्मेदवार बनाउने र कोइरालालाई १५औं महाधिवेशनमा सभापति बनाउन सबैले सहयोग गर्ने समझदारी बनेको नेताहरूले बताउँदै आएका छन्।

आइतबारको भेलामा सहभागी नेता चन्द्र भण्डारीले मुलुक र पार्टीको पछिल्लो अवस्थाका बिषयमा कसरी अघि बढ्ने भनेर छलफल सुरु गरेको बताएका थिए। कुनै पनि नेताविरुद्ध आरोप–प्रत्यारोपभन्दा पनि अब पार्टीलाई कसरी अघि बढाउने भन्ने बिषयमा संसद् र केन्द्रीय समितिमा धारणा राख्न सहज हुन्छ भनेर भेला बोलाइएको भण्डारीले बताएका थिए। उनका अनुसार आइतबार छलफल सुरु मात्र भएको थियो।

मंगलबारको भेला त्यसैको निरन्तरता भएको बुझिएको छ। नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताले एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिएर गल्ती गरेको बताउदै आएका छन्।

आइतबारको भेलामा नेताहरूले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुको साटो पार्टी तटस्थ बसेको भए उचित हुने तर्क राखेका थिए। इतर पक्षका नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले राखेको तर सुनुवाइ नभएको बताएका थिए।

प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएर गल्ती गरेको भन्दै कोइरालाले भेलामा भनेका थिए, ‘तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिएँ, त्यसको सुनुवाइ भएन।’ पार्टीको बहुमत निर्णय मान्नुपर्ने अवस्थामा आफूहरू पुगेको धारणा राख्दै कोइरालाले अबका दिनमा कसरी अघि बढ्ने भन्ने बिषयमा निकट नेताहरूसँग सुझाव मागेको जानकारी भेलामा सहभागी एक नेताले दिएका थिए। त्यसैका लागि पनि मंगलबारको भेला राखिएको बताइएको छ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा कांग्रेस अहिले सत्ता पक्ष कि प्रतिपक्षी भन्ने प्रश्न उठेको बताउँदै भेलामा सहभागी नेताहरूले अहिले नेतृत्व सबैभन्दा धेरै दोधारमा रहेको तर्क गरेका थिए। सहभागीले संसदीय दलको निर्वाचनमा संस्थापन इतर पक्षले आफ्नो उम्मेदवार उठाए पनि यस खेमाका सबैको मत किन आएन भन्ने विषयमा खोजी गर्नुपर्ने धारणा पनि राखेका थिए।

विगतमा के भयो भन्नुभन्दा अब के गर्ने भन्ने निक्र्याेल गर्नुपर्ने औल्याउँदै पार्टी उपसभापति धनराज गुरुङले अब १५औं महाधिवेशनको तयारीमा लाग्नुपर्ने प्रस्ताव आइतबारको भेलामा राखेका थिए। कांग्रेस १४औं महाधिवेशन भएको एक वर्ष मात्र पुगेको छ।

महाधिवेशनपछि कांग्रेसका सबै निकायले पूर्णतासमेत पाइनसकेका बेलामा उपसभापति गुरुङले १५औं महाधिवेशनको तयारीमा जुट्न ढिला गर्न नहुने धारणा राखेका हुन्। भावी सभापतिका रूपमा शेखर कोइरालाको नाम अघि सार्दै उनले भनेका थिए, ‘तयारी ढिला हुँदा धेरै साथीले इच्छा गर्नुहुन्छ। मेरो पनि इच्छा हुन सक्छ।’

प्रकाशित: ९ माघ २०७९ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App