१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपसभामुख निर्वाचन आज : प्रतिस्पर्धामा इन्दिरा र मुक्ता

प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा राना मगरले उमेदवारी दिएकी छन्। उनलाई नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ। रास्वपाकी सोविता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनसहित रानाले शुक्रबार उम्मेदवारी दिएकी हुन्।

शुक्रबार दिउँसो सवा १ बजेर १५ मिनेटमा इन्दिराले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्। रास्वपा समानुपातिकतर्फ आदिवासी जनजाति कोटाबाट उनी सांसद बनेकी हुन्। उनी बिहीबार सभामुखमा निर्वाचित देवराज घिमिरेको गाउँ झापाको अर्जुनधारा नगरपालिकाकै स्थानीय हुन्। ५२ वर्षीया उनी यसअघि सामाजिक सेवामा थिइन्। सामाजिक सेवामा सक्रिय रहँदै आएकी उनी रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएसँगै राजनीतिमा पनि होमिएकी हुन्। उनले सयांै अनाथ बालबालिकाको उद्धार गरेर चर्चा कमाएकी छन्।

सांसदबाहेक अन्य कुनै भूमिकामा इन्दिरा आउने चर्चा थिएन। उनको पार्टी रास्वपाले उपसभामुखमा सोबितालाई पठाउने तयारी गरेको थियो। तर पछि एकाएक रास्वपाको संसदीय दलले इन्दिरालाई उपसभामुख बनाउने निर्णय गरेको हो। उनी सामाजिक सेवामा जस्तै उपसभामुखजस्तो तटस्थ पदमा बस्न तत्पर भएकी छन् तर सो पदमा उनले आफूलाई कसरी प्रस्तुत गर्नेछिन् भन्ने विषय चुनौतीपूर्ण रहेको बताइन्छ।

उपसभामुखले सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको अध्यक्षता गर्नुपर्ने हुन्छ। उपसभामुख संवैधानिक परिषद्को सदस्य पनि हुन्छ। प्रतिनिधिसभाको अध्यक्षता गर्नु वा संवैधानिक परिषद्मा आफ्नो मत प्रकट गर्नु संवेदनशील मानिन्छ। झापाकै भएका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा रास्वपाले इन्दिरालाई उपसभामुखमा अघि सारेको अनुमान गरिएको छ।

उपसभामुखका लागि इन्दिरासँग नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले प्रतिस्पर्धा गर्दैछिन्। निर्धारित समय सकिनुभन्दा पाँच मिनेटअघि शुक्रबार उनले उम्मेदवारी दर्ता  

गरेकी हुन्।  

धनुषाको सहिद नगरपालिका–१ स्थायी ठेगाना भएकी ४५ वर्षीया यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्ला छन्। शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले उपसभामुखमा उम्मेदवारी दिने निर्णय गर्दै प्रतिनिधिसभाको विपक्षी बेन्चका अन्य दलहरूसँगको परामर्शमा यादवलाई उम्मेदवारमा अघि सारेको हो। बिहीबार भएको सभामुखको निर्वाचनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर वा नदिएर विपक्षमा रहेका दलहरूलाई साथ लिएर कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको थियो।  

उनले १०० मत पाउँदा सत्तारूढ दलहरूबाट उम्मेदवार बनेका एमाले सांसद देवराज घिमिरेले १६७ मतसहित प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिनुको साथै पदभारसमेत सम्हालेका छन्। सभामुखको निर्वाचनसँगै बिहीबार नै सार्वजनिक गरिएको उपसभामुख निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्मको समय उम्मेदवारी दर्ताका लागि तोकिएको थियो। उपसभामुखको निर्वाचनका लागि प्रतिनिधिसभाको बैठक शनिबार १ बजेका लागि बोलाइएको छ।

सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी इन्दिरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगर उपसभामुख निर्वाचित हुने निश्चितजस्तै छ। सत्ता गठबन्धनमा रहेका राजनीतिक दलको समर्थन पाएकी उनले सभामुख निर्वाचित घिमिरेजस्तै कम्तीमा १७६ मत पाउने आकलन गरिएको छ।  

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेकी उनी सामाजिक क्षेत्रमा आबद्ध भएको २७ वर्ष पुगेको छ। उनी बन्दी सहायता नेपाल नामक संस्थाकी संस्थापकसमेत हुन्। यस क्रममा उनले अभिभावकविहीन हजारौं बालबालिकालाई उद्धार गरेकी छन्। विश्वभरका समाजेवीमध्ये उत्कृष्ट सेवा प्रदान गर्ने एकजनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२० को शीर्ष तीन स्थानमा पर्न सफल उनले अन्य थुप्रै अवार्ड प्राप्त गरेकी छन्।  

इन्दिराले आफ्नो संस्थामार्फत चार बालगृह, दुई विद्यालय, कैदी र उनीहरूका बालबालिकालाई सहयोग गर्ने विभिन्न सामाजिक परियोजनाहरूसमेत सञ्चालन गरेकी छन्। उनले जेलमा रहेका कैदीहरू रिहा भएपछि र उनीहरूका परिवारका सदस्यहरूलाई मद्दत गर्न बन्दी सहायता नेपालको स्थापना गरेर देशभरका ७० भन्दा बढी कारागारमा रहेका कैदीबन्दीलाई सेवा प्रदान गरिरहेकी छन्। यस कामको कदर गरेर बिबिसीले उनलाई सन् २०१७ मा संसारका सय महिलाको सूचीमा सूचीबद्ध गरेको छ। बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आएकी इन्दिरा एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाका रूपमा समेत चिनिन्छिन्।

इन्दिराकी एउटी छोरी छिन्। तर ५०० भन्दा धेरै बालबालिकाले उनलाई आमा भनेर बोलाउँछन्। अहिले देशका विभिन्न स्थानमा बन्दी सहायता नेपाल संस्थाकै शाखामा १९० बालबालिका आश्रित छन्। कैदी र उनीहरूका बालबालिकालाई आधारभूत आवश्यकता र मानवअधिकार प्रदान गर्न निरन्तर लागिरहेकी उनको संस्था पिए नेपालले कोभिड–१९ महामारीका कारण समस्यामा परेका गरिब र जोखिममा परेका सडकवासीलाई झन्डै डेढ वर्षसम्म सुरुमा ७००, पछि १ हजार जना गरिब र जोखिममा रहेका सडकवासीलाई दैनिक खाद्या वस्तु उपलब्ध गराउने अभियानसमेत चलाएको थियो।  

उनको संस्थाले सुरु गरेको ‘भोकका लागि खाद्य कार्यक्रम’ निकै प्रभावकारी भएको थियो। नेपालमा पहिलोपटक लकडाउन लागु भएदेखि नेपालभर पुगेको उक्त कार्यक्रमबाट झन्डै ५ लाख मानिस लाभान्वित भएका थिए। जसका कारण उनलाई महामारीको समयमा घरबारविहीन र जोखिममा परेका मानिसहरूलाई खाना खुवाउने निःस्वार्थ समर्पणका लागि प्रभाव पुरस्कार २०२२ बाट सम्मानित गरिएको थियो।

यसअघि उनलाई सन् २०१४ मा नेपालका कैदीबन्दीका बालबालिकाका लागि उज्यालो भविष्य प्रदान गर्ने कामको कदरस्वरूप विश्वको सबैभन्दा प्रतिष्ठित सामाजिक कार्य पुरस्कारमध्ये एक ‘होनरी अवार्ड’ समेत प्रदान गरिएको थियो। सन् २००५ मा प्रतिष्ठित अशोक फेलोसिप अवार्डबाट सम्मानित भएपछि इन्दिराले सो पुरस्कारको रकम संस्थाका लागि पूर्वाधार निर्माण, आफ्नो संगठन विस्तार र बालबालिकाको कल्याणमा प्रयोग गरिन्। सन् २०१० मा पनि उनलाई एसियाई–२१ युवा नेता सार्वजनिक सेवा पुरस्कार प्रदान गरियो। सो पुरस्कारसँगै प्राप्त रकमले उनले झापामा प्राथमिक विद्यालय र पाल्पामा मदर प्याराडाइज होम स्थापना गरिन्। मदर प्याराडाइज होमले कैदीका बालबालिकाको हितमा काम गर्छ।

पाल्पा, झापा र काठमाडौंमा गरिएको कृषि, बागवानी र पशुपालनले उनलाई आत्मनिर्भर बन्न निकै मद्दत गरेको छ। उनी सन् २०१४ को विश्व बाल पुरस्कारका लागि मनोनयनमा परेका तीनमध्ये एक थिइन्। उनले स्विडेनकी रानी सिल्भियाले प्रदान गरेको विश्व बाल सम्मान पुरस्कार पनि जितेकी छन्। उनले युवा एसिया पब्लिक सर्भिस अवार्ड र अशोक फेलोसिप अवार्डसहित अरू धेरै उल्लेखनीय पुरस्कार पाइसकेकी छन्। संघर्षको समयमा कपडा मिलमा मजदुरका रूपमा काम गरेकी उनले समाजसेवाको क्षेत्रमा गरेको योगदानकै कारण लीलाराम–कुन्तीदेवी न्यौपाने समाजसेवा पुरस्कार २०१४, नईखरु गौरव पुरस्कार २०१३, उत्कृष्ट समाजसेवी पुरस्कार २०१३, नवतालश संघर्षरत महिला विकास पुरस्कार २०१३, नवतालश संघर्षकारी महिला पुरस्कार २०१३, सामाजिक विकास पुरस्कार २०१३ लगायतका विभिन्न राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेकी छन्। उनी शान्तिदूतका रूपमा विश्वशान्ति महासंघबाट सम्मानित पनि भएकी छन्।

प्रकाशित: ७ माघ २०७९ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App