सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)भित्र भने मन्त्रिपरिषद् विस्तारलाई लिएर व्यापक असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान तथा ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएका छन्। पार्टी अध्यक्ष नै सरकारमा जाँदा त्यसको प्रभाव सिंगो पार्टी संगठनमा पर्ने भन्दै कतिपय नेताहरूले उनलाई सहभागी नहुन आग्रह गरेका थिए। तर लिङ्देन सझावको बेवास्ता गर्दै सरकारमा गए। उनले भ्रष्टाचारको आरोपमा सफाइ पाएका विक्रम पाण्डेलाई समेत महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएपछि राप्रपाभित्र असन्तुष्टि चुलिएको हो। विशेष अदालतबाट सफाइ पाएका पाण्डेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदनका लागि अदालत जाने तयारी गरिरहेको छ।
राप्रपाका दीपक बोहोरा, बृद्धिमान तामाङसहितका नेताहरू पार्टीबाट सरकारमा सहभागी नेताहरूको छनोटलाई लिएर असन्तुष्ट रहेको स्रोतको दाबी छ। पूर्वराजा ज्ञानेन्द्र शाह पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा गएकोमा खुसी नरहेको जानकारी दिँदै एक नेताले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका केही नेतालाई चितवन बोलाएरै असन्तुष्टि जनाएका छन्।’ राप्रपा एकएक वर्षमा मन्त्रीको पुरै टिम परिवर्तन गर्नेगरी सरकारमा सहभागी भएको पनि ती नेताले बताए। तर यस्तो निर्णय भए पनि पार्टीमा विरोधको आवाज चर्को हुँदै गएको उनले बताए। ‘मन्त्रिपरिषद् विस्तारले राप्रपाभित्र निकै ठुलो असन्तुष्टि पैदा भएको छ। त्यो छिट्टै विस्फोट हुन सक्छ,’ उनले भने।
प्रकाशित: ५ माघ २०७९ ००:५९ बिहीबार