१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

घिमिरेको पक्षमा बहुमत, प्रतिस्पर्धामा न्यौपाने

प्रतिनिधिसभाको सभामुखका लागि एमालेका सांसद देवराज घिमिरेको पक्षमा बहुमत सांसदको समर्थन देखिएको छ। प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा कुनै नाटकीय परिवर्तन भएबाहेक झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरे सभामुखमा निर्वाचित हुनेछन्।  

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता भएको छ। दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समयमा दुईजनाको उम्मेदवारी परेको हो। एमाले नेता र कार्यकर्ताको दलबलसहित घिमिरे उम्मेदवारी दर्ता गर्न पुगेका थिए। उनको उम्मेदवारीको प्रस्तावकमा एमाले उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछाने र राप्रपा संसदीय दलका नेता राजेन्द्रप्रसाद लिङ्देन छन्। घिमिरेविरुद्ध नेपाली कांग्रेसले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका तर विपक्षी बेन्चमा बसेका दलहरूलाई समेटेर निर्धारित समय सकिनुभन्दा १० मिनेटअघि ईश्वरीदेवी न्यौपानेलाई सभामुखका लागि उभ्याएको छ। उनको प्रस्तावकमा कांग्रेसका विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन्।  

प्रतिनिधिसभाका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुने व्यवस्था छ। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ। सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर राणाले भोट हाल्न नपाउने भएकाले घिमिरेको पक्षमा १४४ सांसदको समर्थन देखिएको छ। प्रतिनिधिसभामा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २० र राप्रपाका १४ सांसद छन्।  

न्यौपानेलाई कांग्रेसका ८९ र नेकपा एकीकृत समाजवादीका १० सांसदको समर्थन छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले पनि न्यौपानेलाई समर्थन गर्ने संकेत गरेका छन्।

प्रनिनिधिसभामा लोसपाका ४ र जनमोर्चाका १ सांसद छन्। जनता समाजवादी पार्टीका १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीका ३, नेपाल मजदुर किसान पार्टीका १, आम जनता पार्टीका १, स्वतन्त्र ३ गरी २६ सांसद बुधबारसम्म कतै खुलेका छैनन्। सभामुखमा उम्मेदवारी दर्ता गराएका ६७ वर्षीय घिमिरे झापा अर्जुनधारा नगरपालिका–६ का स्थायी बासिन्दा हुन्। उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ बाट निर्वाचित भएका हुन्। उनी एमाले अध्यक्ष केपी ओलीनिकट मानिन्छन्।  

सभामुखमा कांग्रेसबाट उम्मेदवारी दिएकी ६३ वर्षीया न्यौपाने खस आर्य सूचीअन्तर्गत समानुपातिक सांसद हुन्। कैलाली भजनी नगरपालिका–८ कि स्थायी बासिन्दा न्यौपाने २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन्। कांग्रेस गठबन्धन पक्षमा बहुमत पुग्ने अवस्था आएको भए नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई सभामुखको उम्मेदवार बनाउने तयारी थियो। तर बहुमत आउने÷नआउने निश्चित नभएपछि न्यौपानेको नाम अघि सारिएको बताइएको छ। नयाँ गठबन्धन नबन्ने बेलासम्म कांग्रेसभित्र पनि अर्जुननरसिंह केसी र विमलेन्द्र निधिमध्ये एक सभामुख हुने चर्चा थियो। एमालेतर्फ भने सभामुखमा घिमिरेसहित अन्य तीनजना आकांक्षी थिए। जसमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराई थिए। प्रतिनिधिसभाको सभामुख तटस्थ बस्नुपर्ने भएकाले पनि यो पदलाई महŒवका साथ हेरिन्छ।

घिमिरे महाकाली सन्धि पक्षधर थिए। २०५३ सालमा महाकाली सन्धि पारित गर्ने कि नगर्ने भनेर एमाले केन्द्रीय कमिटीमा मतदान भएको थियो। पहिलोपटक मतदान हुँदा १७÷१७ मत अर्थात् बराबरी भएपछि दोस्रो पटकको मतदानमा घिमिरेको मत निर्णायक भएको थियो। एमालेको समर्थनमा २०५३ असोज ४ गते सो सन्धि संसद्को दुई तिहाइबाट पारित भएको थियो। संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा सन्धिबारे मतदान भएको थियो। एमालेले सन्धिको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। तर तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीसहित वामदेव गौतम, सहाना प्रधान, राधाकृष्ण मैनालीलगायत ३१ सांसद मतदानमा अनुपस्थित भएका थिए। सन्धिको पक्षमा दुवै सदनका गरी २ सय २० जना सांसद थिए।

प्रकाशित: ५ माघ २०७९ ००:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App