१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रम दाहाल र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सङ्घीय र प्रदेश सरकारको मन्त्रालय भागबण्डा, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। 

अहिले सातवटै प्रदेश सरकार बनिसकेको छ। अब सङ्घीय मन्त्रिपरिषद्लाई पूर्णता दिने र सँगसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिन बाँकी छ। बुधबार मात्रै प्रधानमन्त्री दाहाल गोरखाबाट फर्किएपछि अध्यक्ष ओलीसँग भेट गरी मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको हो।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए। प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो। विश्वासको मत पाएपछि  मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको छ।

आजको बालुवाटार वार्तामा विनाविभागीय मन्त्रालयको टुङ्गो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल भएको थियो। दुई नेताबीचको छलफलपछि सत्ता साझेदार दलको बैठक बस्नेछ। त्यो बैठकमा अन्य दलका मन्त्रीहरूको पनि टुङ्गो लगाउने तयारी छ।

प्रकाशित: २८ पुस २०७९ १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App