१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माअाेवादीलाई अर्थमन्त्रीकाे प्रश्न : आफैंले ल्याएको बजेटको विराेध किन?

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको कुर्सी खाली नदेख्दा आफूलाई निकै खुसी लागेको बताए। शुक्रबारको संसद बैठकमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

संविधान घोषणा लगत्तै केही आलोचना र असहमतिका स्वरहरु सुनिन थाले पनि त्यसलाई सहमतिमा बदल्न गरिएकाे प्रयासले अहिले सबै दल एउटा सहमतिको विन्दुमा आइपुगेको संसदमा सबै दलका सांसदहरुको पूर्ण उपस्थितिले प्रस्ट पारेको उनले बताए।

संविधान कार्यान्वयमा असहमति जनाउँदै आएका दलहरुले समेत नयाँ संविधानअनुसार नै संसदमा पूर्ण उपस्थिति जनाएर नयाँ संविधानको कार्यान्वयनप्रति प्रतिबद्ध भएको प्रष्ट्याएको उनको तर्क थियो।

संसदमा उठेको संसद बैठकको कार्यसूचिका विषयमा बोल्ने क्रममा उनले सभामुख ओनसरी घर्तीले आर्थिक विधेयकभन्दा पहिला अविश्वासको प्रस्ताव कार्यसूचीमा राखेर रुलिङ गरेको भन्दै असुन्तुष्टि व्यक्त गरे। यसै क्रममा ‘संसद बैठकको कार्यसूचिमा नगई आफ्ना भनाई राख्न’ सभामुखले रुलिङ गरेकी थिइन्। तर, अर्थमन्त्री पौडेले सभामुखकै आदेश अनुसार आफूले संसदलाई कार्यसूचीका विषयमा उठेको प्रश्नको जवाफ दिएको प्रष्ट्याएका थिए।

५ सय ६५ अर्बको राजस्वको लक्ष्य महत्वाकांक्षी भन्ने आरोप निराधार रहेको उनले बताए। राजस्वको श्रोतलाई नचिन्दा, राजस्वको दायरा विस्तार नगर्दा र राजस्व प्रशासनलाई सही ढंगले परिचालन नगर्दा मात्रै प्रस्तुत बजेटले राखेको लक्ष्य महत्वाकांक्षी हुन सक्ने बताए।

गत आर्थिक वर्षमा ६ महिनासम्म भन्सार केन्द्रहरु बन्द हुँदा पनि गत वर्ष ४ सय ७५ अर्बको राजस्व लक्ष्यभन्दा बढी ४ सय ८२ अर्ब संकलन भएको उदाहरण दिँदै उनले चालू आर्थिक वर्षमा ५ सय ६५ अर्बको लक्ष्य महत्वाकांक्षी नभएको प्रष्ट्याए।

‘नेपाल सरकारका कुनै पनि अंगलाई त्यती निरिह र कमजोर पनि नठानौं म आत्म विश्वासका साथ भन्न चाहन्छु, एनसेलको कर असुलीको विषयमा कसैले पनि उन्मुक्ति पाउँदैन,’ अर्थमन्त्री पौडेलले भने, ‘राजनीतिक समिकरण र आपसी सम्बन्ध बद्लिँदैमा आर्थिक विधेयकका अन्तर्वस्तु त बद्लिँदैन नि के आधारले आफैले बनाएको विधेयकको विरोध गर्ने ?’

 

प्रकाशित: ७ श्रावण २०७३ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App