काठमाडौं– सरकारले भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा क्षेत्रफलमा वीरअस्पताललाई विस्तार गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले चालू आर्थिक वर्षको बजेटमा वीर अस्पताललाई उपत्यकाको साँधुरो ठाउँभन्दा पर खुला ठाउँमा अन्तराष्ट्रिय स्तरको पूर्वाधारसहित विस्तार गर्ने उल्लेख गरेको छ। सोहीअनुसार मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
भक्तपुरमा २ सय बेडको अस्पताल, नर्सिङ कलेज तथा न्याम्सका सबै पठन पाठनका गतिविधि सञ्चालन गर्ने पूवार्धार तयार पारिनेछ।
यसैगरी मन्त्रिपरिषद बैठकले मुस्ताङको युरेनियम खानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। आमसञ्चार नीति २०७३ पनि पास गरेको छ।
प्रकाशित: ७ श्रावण २०७३ ०८:२० शुक्रबार