१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्णालीका सांसदले भने: कर्णालीको प्रतिपक्षी रोग, भोक र पछौडेपन हो

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले कर्णालीको रोग, भोक, गरिवी र पछौडेपनविरुद्ध एक ठाउँमा उभिने प्रतिवद्धता जनाएका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशको पहिलो बैठकमा बोल्ने राजनीतिक दलका नेताहरुले मुलुकको राजनीतिभन्दा माथि उठेर आफूहरु कर्णालीको विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता जनाए।  

नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रतिपक्षी रोग, भोक, गरिवी र पछौडेपन भएको बताए। ‘मुलुकको राजनीति जस्तो सुकै भएपनि कर्णालीमा हाम्रो प्रतिपक्ष रोग, भोक, गरिवी र पछौडेपननै हो,’ मुख्यमन्त्री शाहीले भने, ‘यसका विरुद्ध हामी सबै एकै ठाउँमा उभिन आवश्यक छ।’ मुख्यमन्त्री शाहीले कर्णालीका १७ लाख जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको बताए।

‘प्रदेशसभा कानुन निर्माण गर्ने थलो हो,’ उनले भने, ‘राम्रो कानुन बनाएर १७ लाख जनताको पक्षमा काम गरेर देखाउनुपर्ने बेला आएको छ।’ उनले कर्णाली पछाडि पारियो भन्ने अवस्थाको अन्त्य भइसकेको बताउँदै अव कर्णाली बनाउने जिम्मेवारी प्रदेशसभाका सदस्यहरुको काँधमा आएको बताए। माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले गरिवीनै कर्णालीको मुख्य दुस्मन, शत्रु र प्रतिपक्षी भएको बताए।

‘गरिवीका विरुद्ध लड्नका लागि साझा अवधारणा आवश्यक छ,’ उनले भने, ‘यसका लागि नीति, विधि र सो अनुसारको काम गर्ने प्रतिवद्धता जनाउँछौं।’

माओवादी संसदीय दलका नेता शर्माले कर्णाली सुनको डल्लो भएको बताउँदै यसलाई गहनाको रुपमा परिणत गर्नका लागि जनताले आफूहरुलाई कालिगढको रुपमा पठाएको बताए। ‘कर्णाली सुनको डल्लो हो, सुनको डल्लोलाई गहनाको रुपमा परिवर्तन गर्ने कालिगढ चाहिएको छ, जनताले हामीलाई कालिगढका रुपमा पठाएका छन्,’ उनले भने, ‘हामी कालिगढ हुन्छौं कि हुँदैनौं, सुनको डल्लोलाई परिवर्तन गरेर गहना बनाउन सक्छौं कि सक्दैहनौं भन्ने महत्वपूर्ण कुरा हो।’  

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सबै सुचकांकमा पछाडि रहेको कर्णालीलाई देखिने गरेर परिवर्तन गर्नु आवश्यक रहेको बताए। कँडेलले कर्णालीमा विकास गर्ने नभइ विकास खाने मनोविज्ञान हामी रहेको बताए। ‘विकास गर्ने होइन्, विकास खाने मनोविज्ञमानलाई बदल्ने काम गर्नु आवश्यक छ,’ उनले भने, ‘दोस्रो कार्यकालमा कर्णालीबासीलाई सकारात्मक सन्देश दिने गरी सकारात्मक भूमिका खेल्नु आवश्यक छ।’

एमाले संसदीय दलका नेता कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सहयोग र समर्थन रहने बताए। कँडेलले प्रदेशको संरचना, औचित्य र आवश्यकतामाथि प्रश्न उठेको बताउँदै प्रदेश संरचनाको महत्व र औचित्य पुष्टी गर्ने गरी काम गर्नुपर्ने बताए। उनले दशकौंदेखि आन्दोलन गरेर स्थापित भएका राजनीतिक दलहरुलाई खहरे जस्तै आएका राजनीतिक दलहरुप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुन आवश्यक रहेको बताए।  

‘दशकौंदेखि खारिएर आएका राजनीतिक दलहरुमाथि प्रश्न उठ्ने र खहरे जस्ता आउनेहरुप्रति जनताको आकर्षण बढ्ने कुरातर्फ सबै चनाखो भएर अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘संघीयताको औचित्य र आवश्यकतामाथि प्रश्न उठाउनेहरुलाई यसको महत्व र औचित्य पुष्टी गर्ने गरेर काम गर्नु आवश्यक छ।’

प्रकाशित: १८ पुस २०७९ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App