७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस प्रदेशसभा सदस्यको गुनासो: ‘गठबन्धनलाई जितायौं, सरकार गठनमा धोका पायौं’

नेपाल प्रेस युनियन कैलाली शाखाले कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यलाई गरेको बधाई तथा सम्मान कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्यहरु। तस्बिरः पुष्पराज जोशी/नागरिक

निर्वाचनको परिणाम आएपछि पाँच दलीय लोकतान्त्रिक–बाम गठबन्धनको सरकार हुनेमा आफूहरु ढुक्क भए पनि अन्ततः नेकपा माओवादीले धोका दिएको गुनासो सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले गुनासो गरेका छन्।

कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यलाई शुक्रबार नेपाल प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै यहाँका १९ जना प्रदेश सभा सदस्यले यस्तो गुनासो पोखेका हुन्।

बाजुराबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य पदमबहादुर शाहीले केन्द्रको गठबन्धन बिग्रिएपछि आफूहरु पनि निरास भएको बताउँदै भने,‘हामी त केन्द्रदेखि प्रदेशसम्म सरकार हुनेमा ढुक्क थियौँ। तर, गठबन्धन एकाएक बिग्रिएपछि भने आम कार्यकर्ताका साथै हामीमा पनि निरासा छाएको छ।’ अघिल्लो कार्यकालमा पनि सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षकै भूमिकामा रहेको कांग्रेस अहिले पनि प्रतिपक्षमै रहने भएको भन्दै उनले निरासा व्यक्त गरे। 

कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट विजयी कांग्रेस नेता प्रकाशबहादुर बमले आफूहरु सरकारमा नभए पनि बलियो प्रतिपक्षी बनेर सुदूरपश्चिमको विकास निर्माणमा सरकारसँग खबरदारी गर्ने बताए। उनले भने,‘हामीले निर्वाचनमा कांग्रेससँगै पाँच दलीय गठबन्धनका पार्टीलाई आफ्ना कार्यकर्तासँग पनि भोट हाल्न अनुरोध ग¥यौं, तर अहिले आएर माओवादीले नै हाम्रो विश्वास तोड्यो।’ माओवादीलाई जिताएर सँगसँगै जाने भनेर कांग्रेसी कार्यकर्ताले मत दिए पनि अन्तिममा आएर माओवादीले नै मतको अवमूल्यन गरेको कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य तुलसी देवकोटाले बताइन्। उनले भनिन्,‘हामी सुदूरपश्चिम प्रदेश सरकारमा नगए पनि सुदूरपश्चिमबाट हामीलाई मत दिएर जिताउने आम मतदाता तथा कार्यकर्तालाई निरास बनाउने छैनौ।’ यहाँको विकास निर्माणका साथै प्रदेश सरकारको खबरदारीमा पनि आफूहरु कडा रुपमै प्रस्तुत हुने उनले बताइन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहणपश्चात् नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यलाई नेपाल प्रेस युनियन कैलाली शाखाले धनगढीमा एक कार्यक्रमको आयोजना गरी यहाँका १९ जना प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मान गरेको हो।  

प्रकाशित: १५ पुस २०७९ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App