७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सदनमा कस्तो रहला प्रतिपक्षी कांग्रेसको भूमिका

प्रतिनिधिसभामा संख्याका आधारमा बलियो प्रतिपक्षीका रूपमा कांग्रेस देखिने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस गठबन्धन टिकाएर आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएपछि अब संख्याका आधारमा बलियो प्रतिपक्षका रूपमा रहनेछ। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्।  

यसअघिको प्रतिनिधिसभामा ६३ सांसद रहेको कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको थिएन। तर यसपटक प्रतिनिधिसभामा ८९ सिट भएको कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ। अघिल्लोपटकभन्दा यसपटक प्रतिनिधिसभा सदस्यमा युवा नेता बढी निर्वाचित भएकाले पनि कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने एक नेताले बताए।  

प्रतिनिधिसभामा कांग्रेसलाई साना केही पार्टीले पनि प्रतिपक्षीका रूपमा सहयोग गर्नेछन्। प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार सांसद छन्। सो पार्टी पनि प्रतिपक्षमा बस्ने देखिएको छ।नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पनि प्रतिपक्षमा बस्ने भएका छन्। स्वतन्त्रबाट निर्वाचित प्रभु शाहले नयाँ पार्टी गठन गरी सरकारमा जान खोजे पनि सम्भावना कम देखिएको छ। त्यसैले उनी पनि प्रतिपक्षमा बस्ने अड्कल गरिएको छ। त्यस्तै तीन स्वतन्त्र सांसदमध्ये एकजनालाई मन्त्री बनाउने तयारी भएको स्रोतले बतायो। तीन स्वतन्त्र सांसदमध्ये एक मन्त्री भए अरू दुई प्रतिपक्षमा बस्न सक्ने अनुमान छ। नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका पार्टीका नेता रेशम चौधरीलाई रिहा नगरेसम्म सरकारमा नजाने बताएको छ। प्रतिनिधिसभामा सो पार्टीका चारजना सांसद छन्।  

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट मात्र १० सिट जितेको नेकपा एकीकृत समाजवादीले पनि सरकारमा जाने संकेत गरेको छ। यसबाट सत्तापक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी गरी १७६ सिट हुने देखिएको छ। नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र २ स्वतन्त्र सांसद प्रतिपक्षमा बस्ने देखिएको छ।

प्रकाशित: १५ पुस २०७९ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App