३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश सभा सदस्यहरूले लिए शपथ

पद तथा गोपनीयताको शपथ लिँदै नव निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरू। तस्बिर: उमेश पुन/नागरिक।

गण्डकी प्रदेश सभाका सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश सभा भवन नदीपुरमा बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित ५९ जना सदस्यले शपथ लिएका हुन्। उनीहरुलाई गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ खुवाएका थिए। यसअघि ज्येष्ठ सदस्य बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

शनिबार शपथ लिएका ५९ प्रदेश सभा सदस्य मध्ये ५६ जनाले नेपाली भाषामा शपथ लिएका थिए। बाँकी ३ जनाले आफ्नै मातृ भाषामा शपथ लिएको संसद सचिवालयले जनाएको छ। बिहीबार नेपाली काँग्रेसकी सरस्वती गुरुङ र पार्वती तामाङ तथा राप्रपाका पञ्चराम तमु (गुरुङ) ले मातृ भाषामा शपथ लिएका हुन्।

शपथ लिन नवनिर्वाचित प्रदेश सभा सदस्यहरू आ–आफ्नो मौलिक भेषभुषामा सजिएर पुगेका थिए। शपथ लिन मनाङ प्रदेश सभा (२) बाट निर्वाचित राजिव गुरुङ उर्फ दीपक मनाङे पनि पुगेका थिए। गुन्डा नाइकेको छवी बनाएका उनी निर्विरोध निर्वाचित भएका हुन्। तर शपथ अघि मनाङे ज्यान मुद्दामा दोषी ठहर हुँदाको पुरानो फैसलाको पत्र प्रदेश सभामा पुगेपछि कहिबेर हङ्गामा मच्चिएको थियो। उनलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर गरिएको थियो। सोही फैसलाको कागजात बेनामे खामबन्दीमार्फत बिहीबार एक अपरिचित व्यक्तिले संसद सचिवालयमा छाडेका थिए। तर यसअघिको संसदमा पनि उनले शपथ खाएर कार्यकाल बिताइसकेकाले अहिले त्यो पुरानो मुद्दाको फैसलाले असर नगर्ने भन्दै शपथ खुवाइएको संसद सचिवालयले जनाएको छ।

गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक सांसद छन्।

गण्डकीमा वर्तमान गठबन्धनको बहुमत पुग्छ। एमाले, माओवादी र राप्रपा एक ठाउँमा उभिए ३२ सांसद हुने भएकाले यहाँ सहजै गठबन्धनको सरकार बन्ने निश्चित छ। गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते अधिवेशन आह्वान गरेका छन्। त्यसपछि मात्रै सरकार निर्माणको प्रक्रिया सुरु हुने बताइएको छ।

गण्डकीमा एमाले नेतृत्वमा सरकार बनाउने तयारी छ। यद्वपी माओवादीले पनि दाबी छाडिसकेको भने छैन। तर दलहरूबिच भागबन्डा गर्दा गण्डकी एमालेलाई दिने सहमति भइसकेकाले त्यति धेरै विवाद नहुने देखिन्छ।

शपथग्रहणपछि पत्रकारसँग कुरा गर्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर सरकार निर्माण गरिने बताए।

आफ्नो नेतृत्वमा सरकार गठनको पहल लिने बताउँदै उनले भने, 'अहिले निर्णय भइसकेको छैन। हामी गठबन्धनमा आबद्ध दलहरु बसेर सहमतिमै सरकार निर्माण गर्छौँ।’

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफू र आफ्नो पार्टी प्रदेश समृद्ध बनाउन लागि पर्ने बताए। तर उनले सरकार निर्माणबारे कुनैपनि प्रतिक्रिया दिएनन्।

प्रकाशित: १४ पुस २०७९ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App