१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश: एमाले र माओवादीले छाने दलको नेता

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले कर्णाली प्रदेशसभा संसदीय दलको नेता सर्वसम्मत चयन गरेका छन्। बुधबार बसेको दुई पार्टीको छुट्टाछुट्टै बैठकले दलको नेता चयन गरेको हो।

माओवादी केन्द्रले संसदीय दलको नेतामा रुकुम पश्चिमबाट निर्वाचित राजकुमार शर्मालाई चयन गरेको छ। मुख्यमन्त्री बन्ने भनेरै भोट मागेका शर्मा यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख थिए। शर्मा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३ जना सांसद छन्। माओवादी केन्द्र संसदको दोस्रो ठूलो दल हो।

यस्तै प्रदेशसभाको तेस्रो ठूलो दल नेकपा एमालेले यामलाल कँडेललाई दलको नेता चयन गरेको छ। प्रदेशसभाको पहिलो कार्यकालमा पनि उनी एमाले दलको नेता थिए। ४० मध्ये २० सांसद हुँदाहुँदै उनले अघिल्लो पटक सरकारको नेतृत्व गर्न पाएनन्। भागबण्डामा कर्णाली तत्कालीन अवस्थामा माओवादी केन्द्रले पायो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काए पनि उनी मुख्यमन्त्री बन्न पाएनन्। एमालेकै सांसदहरुले फ्लोरक्रस गरेर माओवादीको सरकार जोगाइदिए। पार्टी फुटेपछि त झन उनको मुख्यमन्त्री बन्ने सपना पूरा हुन पाएन्। प्रदेशसभामा एमालेका १० सांसद छन्।

कर्णाली प्रदेश सरकारको नेतृत्वमा माओवादी केन्द्र र एमाले दुबैले दाबी गर्दै आएका छन्। माओवादीले सत्ता गठबन्धनको ठूलो दल हुनुका साथै कर्णाली आफ्नो जनाधार भएको क्षेत्र भएकाले आफूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ भने एमालेले अघिल्लो वर्ष ठूलो दल हुँदाहुँदै माओवादी केन्द्रलाई नेतृत्व सुम्पिएकाले पहिलो चरणमै आफूले नेतृत्व दाबी गर्दै आइरहेको छ।

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले माओवादी र एमालेका आ–आफ्ना दावी स्वभाविक भएको बताइन्। ‘हामीले पनि निर्णयनै गरेर पार्टी केन्द्रलाई कर्णाली प्रदेश सरकारको नेतृत्व नछोड्न भनेका छौं, एमालेको दाबी पनि स्वभाविकै होला,’ उनले भनिन्, ‘अन्तिममा केन्द्रमा भागबण्डा हुँदा कर्णाली सरकारको नेतृत्व जसलाई पर्छ उसैले नेतृत्व गर्छ।’

प्रकाशित: १३ पुस २०७९ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App