७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ।

बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा समेत छलफल हुनेछ।

कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ। संघीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन। यसैगरी संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ। साथै कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि सुरु भएको छ।  

प्रकाशित: ३ पुस २०७९ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App