१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद् र संविधानसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यहरू

प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिनदेखि सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेल ज्येष्ठ सदस्यले अध्यक्षता गरी सभाको कामकारबाही अघि बढाउने व्यवस्था छ। प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो। प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ मा सम्पन्न भएपछि निर्वाचन आयोगले बुधबार संसद् सचिवालयमा अन्तिम परिणामको पत्र पठाएको छ।

संविधानको धारा ९१ को उपधारा ५ बमोजिम प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने छ भन्ने व्यवस्था छ। यस आधारमा संसद् सचिवालयले उनीहरूको उमेर यकिन गरेर सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्ने व्यवस्था मिलाउनु पर्दछ। ज्येष्ठ सदस्यले शपथ ग्रहण गरेपछि सबै सांसद सदस्यले ज्येष्ठ सदस्यसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने हुन्छ।

संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था मिलाउनुपर्ने हुँदा संसद् सचिवालय यसको तयारीमा लागेको सचिवालयका अधिकारीको भनाइ छ। अहिले प्रतिनिधिसभामा निर्वाचित भएर आएकामध्ये राप्रपाबाट समानुपातिक निर्वाचित पशुपतिशमशेर जबरा ८१ वर्ष, लोकतान्त्रिक समाजवादीबाट महोत्तरी ३ बाट निर्वाचित महन्थ ठाकुर ८० वर्ष, बागलुङ १ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी ८० वर्ष र जनता समाजवादी पार्टीका महिन्द्र राय यादवको नागरिकतामा ८५ वर्ष उमेर छ, तर उनी ६६ वर्षका छन्।

ज्येष्ठ सदस्य छनोट भएपछि तुरुन्तै राष्ट्रपतिसमक्ष शपथ ग्रहण गराउने तयारीमा संसद् सचिवालय रहेको छ, तर संसद् सचिवालयका एक अधिकारीले भने पुस ३ गते समानुपातिकतर्फका उमेदवारलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराउने कार्य सम्पन्न गरेपछि सर्वदलीय छलफल गरेर अघि बढ्ने तयारीमा रहेको छ।

ज्येष्ठ सदस्यले २०१६ सालदेखि नै पहिलो बैठकको अध्यक्षता गर्ने परम्परा छ। २०१६ सालमा गिरीप्रसाद बुढाथोकीले दुईवटा बैठकमा ज्येष्ठ सदस्यको भूमिका निर्वाह गरेका थिए भने २०४८ सालको संसद्को पहिलो बैठकमा ज्येष्ठ सदस्य खलिल मियाँको अध्यक्षतामा संसद् बैठक बसेको संसद् सचिवालयले जनाएको छ। उनको अध्यक्षतामा पहिलो बैठक २०४८ असार ६ गते बसेको थियो।

संसद् सचिवालयका अनुसार २०५१ सालको प्रतिनिधिसभाको पहिलो बैठक मंसिर २८ गते ज्येष्ठ सदस्य बलबहादुर राईको अध्यक्षतामा बसेको थियो। २०५६ सालको प्रतिनिधिसभाको पहिलो बैठक असार ६ गते ज्येष्ठ सदस्य गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा बसेको थियो। पहिलो संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले गरेका थिए। दोस्रो संविधानसभाको पहिलो बैठक भने ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको अध्यक्षतामा २०७० माघ ८ मा बसेको थियो।  

२०७२ साल असोज ३ मा नेपालको संविधान जारी भएपछि संविधानसभा व्यवस्थापिकामा रूपान्तरण भएको थियो। संविधानसभा अध्यक्ष सुवास नेम्बाङ र उपाध्यक्ष ओनसरी घर्तीले राजीनामा दिएपछि रूपान्तरित व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न नहुञ्जेल २०७२ असोज २७ देखि असोज २९ सम्म बसेको व्यवस्थापिका–संसद् बैठकको अध्यक्षता व्यवस्थापिका–संसद् सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि २०७४ फागुन २१ मा बसेको बैठकको अध्यक्षता महन्थ ठाकुरले गरेका थिए। नयाँ सभामुख चयन नहुञ्जेल उनले सभाको अध्यक्षता गरेका थिए।

प्रकाशित: २ पुस २०७९ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App