२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

संघीय राजधानी प्रस्ताव भएको थियो प्रदेश राजधानी दाङ

प्रदेशका १२ जिल्लाको पायक थलो दाङ (देउखुरी) मा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा आएको छ। भेगीय स्वार्थका कारण राजधानी कार्यान्वयनमा बिलम्ब भयो।

फलतः प्रदेशसभाको दुई तिहाई बहुमतद्धारा २ वर्ष अघि घोषित स्थायी राजधानी स्थायी थलोमा अहिले बल्ल कार्यान्वयन भएको छ। स्थायी राजधानी देउखुरीमा कार्यान्वयन भएपछि प्रदेशको मुकाम पायक थलोमा आइपुगेको विश्लेषण भैरहेको छ। अहिले प्रदेशको पायक थलो दाङलाई २० वर्ष अगाडी केन्द्रीय राजधानीकै पायक थलो बनाउनु पर्ने प्रस्ताव गरिएको थियो।

दाङलाई संघीय राजधानी बनाउनु पर्ने भन्दै पाँच वर्ष सम्म संघीय संसदमा आवाज उठ्यो।  दाङलाई संघीय राजधानी तोकिनु पर्ने भन्दै आवाज उठाएका थिए – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले। अहिले प्रदेशको स्थायी राजधानी घोषणा भएको दाङका बारेमा उनी भन्छन्, ‘दाङ प्रदेशको मुकाम मात्रै हैन,यो त नेपालकै केन्द्र बन्नु पर्ने हो।’

२० वर्ष अगाडी बिजुक्छेले दाङ उपत्यकालाई व्यवस्थित राजधानीको परिकल्पना गरेका थिए। फलतः उनको दल नेपाल मजदुर किसान पार्टीले काठमाडौँबाट दाङमा केन्द्रीय राजधानी स्थानान्तरण गरिनु पर्ने घोषणा पत्रमा उल्लेख गर्यो। ‘हाम्रो पार्टीको घोषणा पत्रमा नै दाङलाई केन्द्रीय राजधानी बनाउनु पर्छ भनेर उल्लेख गरेका थियौँ,’ बिजुक्छेले नागरिकसंग टेलिफोनमा भने ‘हाम्रो पार्टीको यो घोषणा व्यवस्थित राजधानी निर्माणका निम्ती जायज थियो।’

बिजुक्छेले आफ्नो दलको घोषणा पत्रमा मात्रै यो एजेण्डालाई सिमित राखेनन्। उनले तत्कालीन संसदमा दाङ केन्द्रीय राजधानी बन्नु पर्ने आधारसहित पटक पटक आवाज उठाए पनि। उनी भन्छन,् ‘५ वर्ष सम्म मैले यो प्रस्तावलाई सदनमा मौखिक रुपमा प्रस्तुत गरिरहेँ, यो उचित प्रस्ताव उपर सदन अनि सरकारको ध्यान जानेमा म बिश्वस्त पनि थिएँ।’

तर सदनले उनले बोलेको यो प्रस्ताव प्रति कुनै चासो नै राखेन। नत तत्कालीन सरकारले नै यसलाई छलफलको बिषय बनाउन चाह्यो। तर बिजुक्छे दाङ राजधानीका बिषयमा बोल्न भने छोडेनन्। ‘सदनमा उठेको आवाजलाई सदनले छलफलको बिषय बनाएन,’ उनले भने ‘नत सरकारले नै यो बिषय प्रति गम्भीरता देखाउन सक्यो, हाम्रो आवाज माथि सरकारका कुनै पनि मन्त्रीले सदनमा जवाफै दिएनन्।’ आफ्नो प्रस्ताव उपर नत सरकार गम्भिर बन्यो, नत सदननै। अनि यो मुद्धा ओझेलमा पर्दै गयो। ‘हामी बोलेको कसैले सुन्नै चाहेन,’ उनले भने ‘सम्बोधन नै नहुने भएपछि हामीहरु पनि चुप बस्नु बाहेक अरु बिकल्प हुने कुरै भएन।’

दलको घोषणा पत्रमा उल्लेख भएको दाङ राजधानीको एजेण्डालाई सदनमा प्रस्तुत गरेका बिजुक्छेमाथि बरु दाङ राजधानीको एजेण्डालाई उनको व्यक्तिगत स्वार्थका रुपमा जोडेर हेरियो। उनीमाथि दाङमा जग्गा खरिद गरेर आफ्नो ब्यक्तिगत लाभका निम्ती दाङ राजधानीको बहस छेडेको आरोप लाग्यो। ‘मलाई दाङमा जग्गा किनेकाले दाङ राजधानीको एजेण्डा अघि सार्न खोजेको भनेर आरोप पनि लगाए,’ उनले भने ‘तर यो त मेरो व्यक्तिगत स्वार्थ भन्दा पनि पूर्व र पश्चिमको समानुपातिक बिकासका निम्ती पलाएको सोँच थियो।’

बिजुक्छे चाहन्थे, दाङलाई राजधानी तोकेर पूर्व र पश्चिमको समानुपातिक बिकास हुनेछ। नेपालको पूर्व र पश्चिम भेगबिच बिकासमा देखिँदै आएको भिन्नतालाई तोड्नै पर्ने उनले देखेका थिए। नेपालकै केन्द्रका रुपमा  दाङलाई उभ्याउन सकिए विकासमा बिद्यमान असमानताको अन्त्य हुने उनको बिश्वास थियो। ‘नेपालको पूर्वी क्षेत्र र पश्चिमी क्षेत्र बिच बिकासमा ठूलो भिन्नता छ ,दाङ उपत्यकालाई केन्द्रका रुपमा स्थापित गर्न सकिएको भए नेपालका हरेक कुनाको पहुँच सहज हुने थियो,’ उनले भने ‘यसले बिकासमा पनि समान अवसर प्रदान हुन्थ्यो,हामीहरुले यसैका निम्ती नै दाङ राजधानीको एजेण्डालाई स्थापित गर्न खोजेका हौँ।’

यसैगरि हालको ‘अव्यवस्थित’ राजधानीको उच्च विकल्पका रुपमा उनले सबै भन्दा ठूलो उपत्यका दाङलाई देखेका थिए। 

‘काठमाडौँमा भद्रगोल भयो, यो ठाउँ व्यवस्थित हुन सकेन,’ उनले भने ‘व्यवस्थित राजधानीका लागि सबै भन्दा ठूलो उपत्यका दाङलाई कायम गरिनु पथ्र्यो, तर त्यसो हुन सकेन।’ सदन अनि सरकारले बेवास्ता गरेको यो एजेण्डा प्रति आम नागरिक समेत उतिसारो बिश्वस्त देखिएनन्।

उनीहरुले बिजुक्छेको यो प्रस्तावलाई अस्वाभाविक माने। तथापी जायज एजेण्डालाई कार्यान्वयन गरेर अघि बढ्न सकिने सम्भावना देखेका उनले भने उनी आफूले राजधानी प्रस्ताव गरेको दाङमै आएर यहाँका बुद्धिजीविहरु संग छलफल समेत गरेका थिए। तथापी उनको आवाजमा साथ दिने जिल्लाको तप्का उभिएन। ‘मलाई त यसले पनि जग्गा किनेको छ होला, त्यहि भएर दाङ राजधानी भनेर बोलेको होला भनेर आशंक ागर्न थालियो,’ उनले भने ‘जनस्तरबाट पनि यो एजेण्डामाथि बल पुग्ने कुनै काम भएन।’

बरु उनी काठमाडौँका ब्यापारिक घरानाको तारोमा परे। दाङमा राजधानी सार्न खोजेर आफूहरुको ब्यापारलाई चौपट पार्ने प्रयास गर्न थालेको भन्दै उनि माथि ब्यापारिक घराना असन्तुष्ट देखिन थाल्यो। ‘ब्यापार चौपट पारिदिने मनसायले दाङमा राजधानी सार्ने भनेर बोलेको भन्दै म माथि ब्यापारि साथीहरु असन्तुष्ट हुनु भयो,’उनले भने ‘मेरो आवाजको काठमाडौँमा ठूलो बिरोध भयो।’

बिजुक्छेले संघीय राजधानीको प्रस्ताव गरेको दाङ अहिले प्रदेशको राजधानी बनेको छ। प्रदेशको पायक मुकामका रुपमा रहेको दाङले समग्र प्रदेशको बिकासमा भूमिका खेल्ने दाबी गरिएको छ।       

प्रकाशित: १ पुस २०७९ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App