६ वैशाख २०८१ बिहीबार
राजनीति

रास्वपा, राप्रपा र जसपामा दुई धार

नयाँ सरकार गठनका लागि दलहरूबीच गृहकार्य भइरहेका बेला त्यसमा सहभागी हुने या नहुने विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) मा दुई धार देखिएका छन्।

स्रोतका अनुसार रास्वपाका केही सांसदले सरकारमा जाने इच्छा देखाएका छन्। यस विषयमा उक्त पार्टीले औपचारिक रूपमा  भने केही निर्णय गरेको छैन। तर रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीले चुनावी घोषणापत्रमार्फत उठाएका मुद्दा सम्बोधन हुने अवस्था आए सरकारमा सहभागी हुन सकिने बताए। ‘घोषणापत्रमा हामीले उठाएका मुद्दा सम्बोधन गर्न अन्य पार्टीले सहमति जनाए भने हामीले बाहिरै बसेर पनि नयाँ सरकारलाई समर्थन गर्न सक्छौं, सरकारमै सहभागी हुन पनि सक्छौं,’ प्रवक्ता ढकालले भने। सरकारमा जाने विषयमा सबै पक्षसँग औपचारिक अनौपचारिक कुराकानी भइरहेको उनले बताए।  

स्रोतका अनुसार सरकारमा सहभागी हुने र नहुने विषयलाई लिएर रास्वपामा दुई धार देखिएका छन्। एउटा धार वर्तमान सत्ता गठबन्धनको पक्षमा र अर्को धार सरकारमा नगई बाहिर बस्नुपर्छ भन्ने देखिएको छ। वर्तमान सत्ता गठबन्धनको पक्षमा देखिएका रास्वपाका केही सांसद यही गठबन्धनले बनाउने नयाँ सरकारमा जान इच्छुक देखिएको स्रोतको दाबी छ। प्रतिनिधिसभामा रास्वपाका प्रत्यक्ष ७ र समानुपातिक १३ गरी २० सांसद छन्। रास्वपा अध्यक्ष रवि लामिछानेले भने सरकारमा जानेनजाने विषयमा केही बोलेका छैनन्।

राप्रपामा पनि नयाँ सरकारमा सहभागी हुने कि नहुने विषयमा दुई लाइन देखिएको छ। दलका अधिकांश सांसदले नयाँ बन्ने सरकारमा जान इच्छा देखाएका छन्। तर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही भने अहिले राप्रपा सरकारमा जान नहुने लाइनमा रहेको स्रोतले बतायो। राप्रपाका एक नेताले भने, ‘पार्टी अध्यक्षमा अहिले नयाँ बन्ने सरकारमा नजाऔं भन्ने छ। जब जनता कांग्रेस, एमालेबाट थप निराश हुन्छन्, त्यतिबेला हामीले बल्ल सरकारमा जाने विषयमा सोच्नुपर्छ भन्ने सोच उहाँको छ।’  

राप्रपाका सांसद दीपक बोहरा, विक्रम पाण्डे, धु्रवबहादुर प्रधानलगायत भने पार्टी नयाँ बन्ने सरकारमा सहभागी हुनुपर्छ भन्ने लाइनमा छन्। सरकारमा जानुहुँदैन भन्ने पार्टी अध्यक्ष लिङ्देन लाइनको विरोधमा अधिकांश सांसद उभिएका छन्। स्रोतका अनुसार यो विषयलाई लिएर पार्टीभित्र विवाद सुरु भइसकेको छ। ‘नयाँ सरकार बनाउन संख्या (बहुमत) पुगेन भने त्यतिबेला हामीले सहयोग गर्छौं’, राप्रपा नेता बुद्धिमान तामाङले भने, ‘अहिले नै हामीले सरकार बनाउन यो पार्टीलाई सहयोग गर्छौं भनेका छैनौं तर बहुमत पुगेन भने जुनसुकै पार्टीलाई पनि सहयोग गर्न तयार छौं।’

राप्रपाका अर्का नेता पशुपतिशमशेर राणाले भने नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुने विषयमा केही बोलेका छैनन्। तर राणानिकट स्रोतले भन्यो, ‘सरकारमा जानुहुँदैन भन्ने लाइनमा उहाँ पनि हुनुहुन्न।’ प्रतिनिधिसभामा राप्रपाका प्रत्यक्ष ७ र समानुपातिक ७ गरी १४ सांसद छन्।  

प्रतिनिधिसभामा १२ सिट जितेको जसपाभित्र पनि नयाँ सरकारमा सहभागी हुनेनहुने विषयमा मतभेद देखिएको छ। पार्टीले भने यसबारे निर्णय गरेको छैन। वर्तमान सत्ता गठबन्धनले फेरि जसपालाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेको छ। यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकममल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुराकानी भइरहेको नेताहरूले बताएका छन्। जसपाका प्रवक्ता मनीष सुमनले नयाँ सरकार निर्माणमा सहयोग गर्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष दाहाललगायत विभिन्न दलका नेताहरूसँग अनौपचारिक कुराकानी भइरहेको बताए। जसपाले निर्वाचनका मुखमा वर्तमान सत्ता गठबन्धनलाई छाडेर एमालेसँग चुनावी तालमेल गरेको थियो। प्रतिनिधिसभाको चुनाव सकिएलगत्तै जसपा अध्यक्ष यादवले एमालेसँग तालमेलको अध्याय समाप्त भएको सार्वजनिक रूपमै बताएका थिए। जसपाका एक नेताले भने, ‘पार्टी अध्यक्षले त्यसरी सार्वजनिक रूपमा एमालेसँगको तालमेल सकिएको भन्नुको आशय अहिलेको सत्ता गठबन्धनमा जान सक्ने संकेत गर्नु हो।’ प्रवक्ता सुमनले यस विषयमा पार्टीले केही निर्णय नगरेको बताए।

एमालेसँगको चुनावी सहकार्यले पार्टीलाई नोक्सानी भएको जसपाका केही नेताको बुझाइ छ। एमालेसँग सहकार्य गर्दा पनि प्रत्यक्ष निर्वाचनमा जसपा अध्यक्ष यादव पराजित भए। निर्वाचनमा जसपाले अपेक्षाकृत परिणाम ल्याउन नसकेको विषयमा समीक्षा भइरहेको नेताहरूले बताएका छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी जसपाका १२ सांसद छन्।  

जनमत र लोसपा सरकारमा जाने  

सिके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा नयाँ सरकारमा जाने लाइन लिएका छन्। जनमत पार्टीले केन्द्रमा कृषि मन्त्रालय मागेको नेताहरूले जनाएका छन्। केही दिनअघि जनमत पार्टीका अध्यक्ष राउतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सरकारमा सहभागी हुने विषयमा सहमति जनाएका थिए। प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन्।  

यसैगरी लोसपाले त प्रस्टसँग आफू वर्तमान सत्ता गठबन्धनमा रहेको जनाएको छ। ‘हामी पहिले नै सत्ता गठबन्धनमा सहभागी छाैं। यही गठबन्धनमै रहेर चुनावमा गएका हाैं। हामी सत्ता गठबन्धनका पक्षमा छौं भनेर फेरि निर्णय गर्नु आवश्यक छैन’, लोसपा कार्यकारिणी सदस्य केशव झाले भने। लोसपा अध्यक्ष महन्थ ठाकुरले दुई दिनअघि प्रधानमन्त्री देउवासँग भेट गरी नयाँ सरकार गठनलगायत राजनीतिक विषयमा कुरा गरेको स्रोतले बतायो।

प्रकाशित: १ पुस २०७९ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App