१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

देशभित्रै औद्योगिक कच्चा पदार्थ उत्पादन गरौं: राष्ट्रपति भण्डारी

विराटनगरमा आयोजित विराट एक्स्पोमा सहभागि हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः चुमन बस्नेत/नागरिक

राष्ट्रपति विद्यादेवी भण्डारीले दीगो औद्योगिकरणका लागि उद्योगलाई चाहिने कच्चा पदार्थ देश भित्रै उत्पादन गर्नुपर्ने बताएकी छिन्। बिहीबारदेखि विराटनगरमा सुरू भएको विराट एक्स्पोको उद्घाटन गर्दै भण्डारीले देश भित्रै औद्योगिक कच्चा पदार्थ उत्पादन गर्न उद्योगी र किसानवीच समन्वय आबश्यक रहेको बताएकी हुन्।

भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताइन्। उनले आगामी दिनमा औद्यौगिकरणका लागि विराटनगरले देशलाई नै संदेश दिन अग्रसर हुने विश्वास व्यक्त गर्दै विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै संभावना रहेको बताइन्। उनले रानी–किमाथांका सडकले विराटनगर भारत र चीनसँग सोझै जोड्ने भएकाले यो सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक विकासको ढोका खोल्ने बताइन्। उनले औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन्। उनले भनिन्‘किसान र उद्योगी वीच समन्वय गरी उद्योगलाई चाहिने कच्चा पादर्थ स्वदेशमै उत्पादन  गरौं।’

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतमा भन्दा फरक खालको आर्थिक मन्दीबाट गुज्री रहेको बताए। उनले विगतमा लोडसेडिङ, भुकम्प, कोरोना र नाकाबन्दीले अर्थतन्त्रमा  बाहिरबाट समस्या देखिएको भए पनि यतिवेला सरकार र राष्ट्रबैंकको नीतिका कारण अर्थतन्त्र भित्रै समस्या देखिएको बताए। ‘बिगतमा अर्थतन्त्र बाहिरबाट समस्यामा थियो’ उनले भने ‘अहिले अर्थतन्त्र भित्रकै  समस्या भोगिरहेका छौं।’ उनले अर्थतन्त्रका सबै सेक्टरमा संकुचन आउँदा निर्माण उद्योगमा ७० प्रतिशत, विद्युतीय बस्तुमा ५० प्रतिशत, अटो मोवाइलमा ८० वीमा व्यवसायमा ३०, होटलमा ४०, घरजग्गा कारोबारमा ४५, पूँजीबजारमा ३८, डिजलको खपतमा २५ प्रतिशतले संकुचन आएको छ।

उद्योगमा विद्युतको खपत २५ प्रतिशतले घटेको ३६ प्रतिशतले निर्यात घटेको उनले बताए। अर्थतन्त्रमा मन्दी आउँदा पुस महिनामा आयकर संकलन गत वर्षको भन्दा ५० प्रतिशतले घट्ने स्थिति देखिएको गोल्छाले बताए। उनले भुक्तानी सन्तुलनले मात्रै समस्या समाधान नहुने भन्दै तरलता अभाव नहटेसम्म आर्थिक स्थितिमा सुधार नआउने ठोकुवा गरे। ‘भुक्तानी सन्तुलनले मात्रै समस्या समाधान हुन्दैन’ उनले भने‘ तरलता अभाव नहटेसम्म समस्या यथावत नै रहन्छ।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले देशका लागि निर्यात बृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताए। प्याकुरेलले कोभिड पछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा नै समस्या देखिन थालेको स्पष्ट पारे। उनले भने,‘आर्थिक मन्दीले समग्र अर्थतन्त्रमा समस्या देखिएका कारण सरकारले वेलैमा ध्यान दिन उनले आग्रह गरे।’ प्याकुरेलले सुनसरी–मोरङ औद्योगिक करिडोरको मुख्य समस्या कच्चा पदार्थ आयातमा महँगो लागत भएको बताए। विराटनगर–वथनाहा रेल वे तयार भए पनि सञ्चालनमा सरकारले वेवास्था गरेको  उनको गुनासो छ।

जसका कारण सडक मार्गबाट सामान आयात गर्नु परिरहेकाले औद्योगिक कच्चा पदार्थको ढूवानीमा मात्रै ३० प्रतिशत भन्दा ज्यादा लागत लागिरहेको उनको भनाइ छ। उनले यथाशिघ्र विराटनगर सम्म निर्माण भइसकेको रेलमार्ग सञ्चालनमा ल्याउन सरकारसँग माग गरे। प्याकुरेलले भन,े‘तयार भइसकेको रेल मार्ग  जतिसक्दो चाँडो सञ्चालनमा ल्याइयोस्।’

कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्,  मुख्य मन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले सम्बोधन गरेका थिए। उद्योग संगठन मोरङको आयोजनामा पुस  ६ गते सम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ६१ स्टल रहेका छन्।

प्रकाशित: २९ मंसिर २०७९ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App