७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रमा भद्रगोल

तस्बिरः विजय गजमेर

काठमाडौं- समान विचार र धारणा राख्ने दस पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन। पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ।

पार्टी एकीकरणपछि बनाइएका ९ सय ९९ केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिने भन्नेबारे अहिलेसम्म कुनै योजना नबनेको एक केन्द्रीय सदस्यले बताए। 'एकीकरणका बेला नेतृत्व तहले पार्टीलाई १ नम्बर बनाउने घोषणा गरेको थियो,' उनले भने, 'अहिलेको अवस्था हेर्दा केन्द्र एक नम्बर होइन, योजनाविहीन हुने अवस्था आइपर्‍यो।'

विगतमा सँगै काम गरेका अधिकांश समूहसँग एकता गरेको माओवादीलाई अहिले सबैलाई समेट्ने गरी कार्यदिशा तय गर्नै समस्या आइपरेको ती केन्द्रीय सदस्य बताउँछन्। 'अधिकांशको पृष्ठभूमि सशस्त्र आन्दोलनबाट मूलधारको राजनीतिमा प्रवेश गरेकाले कतिपयले युद्धको धङधङी छाड्न सकेका छैनन्,' अर्का केन्द्रीय सदस्यले भने, 'अध्यक्ष पुष्पकमल दाहाललगायत नेता पुँजीवादी–जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद निर्माणका लागि तयारी गर्ने पक्षमा छन्।' उच्च तहमा रहेको ठूलो समूहलाई नेतृत्व तहले लिन खोजेको कार्यदिशाबारे नै प्रस्ट नहुँदा कार्यदललाई काम गर्न गाह्रो परेको कतिपयको बुझाइ छ।

एकीकरणपछि पार्टीमा यति धेरै अन्योल बढेको छ कि घोषणा गरिएका ९ सय ९९ सदस्यलाई कुन नामले सम्बोधन गर्ने भन्नेमै विवाद छ। कतिपय नेता सबैलाई केन्द्रीय सदस्य भन्नुपर्ने बताउँछन् भने कतिपयचाहिँ यति धेरै संख्यामा केन्द्रीय सदस्य बनाउँदा पार्टी झन् बदनाम हुने भएकाले महाधिवेशन आयोजक समिति भन्नुपर्ने धारणा राख्छन्।

जेठ ६ गते पार्टी एकीकरणपछि यही वर्षभित्रै महाधिवेशन गर्ने घोषणा गरिए पनि अहिलेसम्म केन्द्रीय समिति बैठक नै एकपटकभन्दा बढी बस्न सकेको छैन। 'सबैलाई खुसी बनाउन ठूलो समूह बनाइएकाले आगामी दिन केन्द्रीय समिति बैठक बस्लाजस्तो लाग्दैन,' ती केन्द्रीय सदस्यले भने, 'बैठक बोलाउनै खोजे पनि कहाँ राख्ने, कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ।'

एकीकरणका बेला अधिकांश नेता बढीमा ५ सय सदस्य रहने केन्द्रीय समिति गठनको पक्षमा रहे पनि तत्कालीन एकीकृत माओवादी अध्यक्ष दाहालको दबाबमा ठूलो समिति बन्न पुगेको कतिपय केन्द्रीय सदस्य बताउँछन्। दाहालनिकट एक केन्द्रीय सदस्यका अनुसार एकीकरणअघि अधिकांश नेता पाँच सयसम्म सदस्य रहने केन्द्रीय समितिको पक्षमा थिए। 'तर, अन्तिम समयमा अन्य पार्टीबाट एकीकरणमा आएका कनिष्ठ व्यक्ति केन्द्रीय सदस्य मनोनीत गरिएपछि दाहाल आफूनिकटका व्यक्तिलाई समेटेर केन्द्रीय समिति ठूलो बनाउन बाध्य भएका हुन्,' उनले भने।

जिल्ला तहमा सामान्य हैसियत बनाएका कार्यकर्तालाई समेत केन्द्रीय सदस्य बनाइएपछि स्थानीय तहमा खटिने कार्यकर्तामा निराशा छाएको धेरैको भनाइ छ। अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष बिमला केसी सोचेभन्दा ठूलो केन्द्रीय समिति बनाइएका कारण पार्टीका लागि पूरै जीवन खर्चेका इमानदार कार्यकर्ता त्यो समितिमा रहने–नरहने अन्योलमा परेको बताइन्। 'धेरै संख्याका कार्यकर्ता ठूलो केन्द्रीय समिति मात्र नभएर पार्टीले कार्यदिशा लिन नसकेका कारण पनि अन्योलमा छन्,' उनले भनिन्, 'विगतमा निश्चित पद्धति र योजनामा चलेको पार्टी अहिले भद्रगोल अवस्थामा पुगेको छ।'

माओवादी दिनप्रतिदिन अस्तव्यस्त हुनुका साथै इमानदार कार्यकर्ता अन्यायमा पर्ने क्रमसँगै कुरौटे, चाकरीबाजको बिगबिगी बढेको गुनासो कार्यकर्तामा छ। 'विगतमा तोकेको जिम्मेवारी पूरा गरे निश्चित पद र तहमा पुग्ने व्यवस्था थियो,' केसीले भनिन्, 'अहिले न इमानदार कार्यकर्तालाई पार्टीले जिम्मेवारी दिन्छ न त राम्रो काम गर्नेको मूल्यांकन भइरहेछ।'

पार्टी एकीकरणपछि केन्द्रीय समितिको मात्र होइन, २ सय २८ जना सदस्य रहने गरी बनाइएको पोलिटब्युरोको समेत एउटा मात्रै बैठक बस्न सकेको छ। ठूलो केन्द्रीय र पोलिटब्युरो समिति बनाइएको भन्दै तल्लो तहका कार्यकर्ताबीच विरोध भइरहेको बेला नेतृत्वतह भने अझै केन्द्रीय समितिमा एक सय र पोलिटब्युरोमा २८ सदस्य थप्ने तयारीमा रहेको स्रोतले जनायो।

केन्द्रकी सचिवालय सदस्य कमला रोका पार्टीलाई गतिशील बनाउन यतिखेर आन्तरिक शुद्धीकरण प्रमुख सबाल रहेको ठान्छिन्। 'एकीकरणका नाममा राजनीतिक जीवनबाट निष्त्रि्कय भएका व्यक्तिसमेत नेतृत्वतहमा पुगेका छन्,' रोकाले भनिन्। एकीकरणपछि अध्यक्ष दाहालले सात प्रदेशमा प्रशिक्षण सकाए पनि कार्यकर्ता तहमा जिम्मेवारी बाँडफाँटको अन्योल चिर्न नसकेको धेरैको भनाइ छ।

केन्द्रकी प्रवक्ता तथा कार्यदिशा बनाउन गठित कार्यदलकी सदस्य पम्फा भुसाल कार्य विभाजन टुंगो नलाग्दा समस्या सिर्जना भएको बताउँछिन्। 'एकीकरणपछि पनि सातै प्रदेश र भ्रातृ संगठनमा पुरानै इन्चार्ज र सेक्रेटरी हुँदा गाउँगाउँमा कार्यक्रम लैजान समस्या भइरहेछ,' उनले भनिन्।

केन्द्रले स्पष्ट नीति लिन नसक्दा करिब ४ लाख संगठित सदस्य अन्योलमा रहेको माओवादी नेता बताउँछन्। 'अहिले दुई–चार जना नेता एकोहोरो बोल्ने र अरूले उनीहरूका कुरा सुन्ने काम भइरहेको छ,' एक पोलिटब्युरो सदस्यले भने, 'बाहिरी रूपमा हेर्दा संगठनमा धेरैलाई समेटेर ठूलो बनाइएजस्तो देखिए पनि भित्री रूपमा पार्टी दुई–चार जना व्यक्तिको खल्तीमा पसेजस्तो भइरहेको छ। पार्टीमा निरंकुशता हाबी भइरहेको छ।'

 

प्रकाशित: ५ असार २०७३ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App