१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेले घनश्याम भुसाल, प्रभु साह लगायतका नेतालाई पार्टीबाट हटायो

नेकपा (एमाले) ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी विरोधी गतिविधिमा लागेका नेताद्धय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो। 

त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रति राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाटीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ। चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचिबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए। 

उनले भने पार्टी स्थायी कमिटीका दुई जना सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई हामीले पार्टीबाट हटाएका छौं। 'केन्द्रीय कमिटीका सदस्यहरू उपेन्द्र साह, रौतहटका कुन्दन कुशवाह, रामप्रति राम सिरहा, बद्री न्यौपाने सर्लाही, रिता साह सर्लाही, गंगा चौधरी दाङ, टेकबहादुर बलम्पाटी महोत्तरी उहाँहरूलाई हामीले पार्टीको केन्द्रीय कमिटीबाट हटाएका छौं। वाङदे शेर्पा ताप्लेजुङ, सल्लाहकार परिषद् सदस्य, खेम सुवेदी कञ्चनपुर, भक्तबहादुर अधिकारी कञ्चनपुर, लक्ष्मी साह कैलाली उहाँहरूलाई पनि पार्टीबाट कारबाही गरेका छौं। र, समानुपातिक सूचिमा रहेका तर पार्टी गतिविधिमा लागेका जैतुन खातुनलाई पनि कारबाही गरिएको छ।’

प्रकाशित: २४ मंसिर २०७९ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App