१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बागमती प्रदेश: गठबन्धनले बहुमत ल्याउँदा कांग्रेस पहिलो दल

प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम नतिजा आउँदा बागमतीमा नेपाली कांग्रेस सबैभन्दा बढी सिट जितेर पहिलो दल बनेको छ।

प्रत्यक्षतर्फको ६६ मध्ये कांग्रेस एक्लैले प्रदेशसभामा २५ सिट जितेको छ। प्रदेशसभामा सत्ता गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ। तर समानुपातिक सिटसमेत जोड्दा बाग्मतीमा एउटै दलले सरकार बनाउन भने सम्भव छैन। गठबन्धन गरेर मिलीजुली सरकार नै बनाउनु पर्ने बाध्यता दलहरुलाई छ।

यो निर्वाचनमा गठबन्धनको ठूलो फाइदा कांग्रेसले लियो। अघिल्लो चुनावमा आठ स्थानमा सीमित कांग्रेस यो पटक तेब्बरभन्दा बढी सिट थप्न सफल भयो। प्रदेशको सबैभन्दा ठूलो दल एमाले माओवादीभन्दा एक सिट तल रहँदै तेस्रो स्थानमा सीमित भयो। उसले १३ सिट जितेको छ। अघिल्लो निर्वाचनमा उसले प्रत्यक्षमा मात्रै ४२ सिट जितेको थियो।

कांग्रेससँगको गठबन्धनले माओवादीले थप फाइदा लिन नसके पनि सिट संख्यामा कुनै नोक्सान भएन। माओवादीले १४ प्रदेश सभा सदस्य जितेको छ। वाम गठबन्धन गरेको माओवादीले अघिल्लो निर्वाचनमा पनि १४ सिट जितेको थियो।

अन्तिम नतिजा अनुसार बाग्मतीमा राप्रपाले सात, एकीकृत समाजवादीले पाँच, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक/एक सिट जितेका छन्। प्रत्यक्षबाट यो पटक बाग्मती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ। अघिल्लो पटक प्रत्यक्षबाट पाँच दल प्रदेश सभामा पुगेका थिए।

राप्रपा, एमाले फुटपछिको निर्वाचनबाट समाजवादी र हाम्रो नेपाली पार्टीले नयाँ दलको रुपमा प्रदेश सभामा प्रवेश पाएका छन्। अघिल्लो निर्वाचनमा एक सिट जितेको नयाँ शक्ति अहिले अस्तित्वमा छैन। त्यतिबेला एक सिट जितेको नेमकिपा त्यसलाई जोगाउन सफल भएको छ।

चुनावबाट कांग्रेसले सिट मात्र थपेन, प्रदेशभरिका जिल्लामा फैलने मौकासमेत पायो। प्रदेशका १३ मध्ये रामेछापबाहेक १२ जिल्लाबाट कांग्रेस प्रदेश सभामा प्रतिनिधित्व गर्न सफल भएको छ। २०७४ को चुनावमा कांग्रेस रसुवा, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक र मकवानपुर गरी पाँच जिल्लामा सीमित भएको थियो।

यसअघिको निर्वाचनमा रसुवाबाहेक १२ जिल्लाबाट सिट जित्न सफल एमाले यसपल्ट सिन्धुली, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र रामेछाप गरी थप ६ जिल्लामा ‘क्लीन स्वीप’ भयो। जब कि यी जिल्ला एमाले गढ मानिन्थे । यस पटक पनि एमालेले रसुवाबाट सिट थप्न सकेन।

योपल्ट एमालेले संघीय राजधानी काठमाडौँमा नराम्रोसँग धक्का बेहो¥यो। २०७४ मा काठमाडौँ जिल्लाका २० मध्ये १६ सिट जितेको एमाले यसपाली चार स्थानमा खुम्चिन पुगेको छ। बरु चार स्थानमा सीमित भएको कांग्रेसले काठमाडौँबाट चार थप्दै आठ सिट पु¥यायो। त्यस्तै काठमाडौँबाट राप्रपाले पाँच, समावजादीले दुई र हाम्रो नेपाली पार्टीले एक सिट जित्न सफल भए।

नतिजा अनुसार बाग्मतीमा गठबन्धन (कांग्रेस, माओवादी, समाजवादी) ले प्रत्यक्षतर्फ बहुमत ४४ सिट जितेको छ। एमाले, राप्रपा, नेमकिपा र नेपाली पार्टीले २२ सिट मात्र जितेका छन्। ४४ सिटको समानुपातिकतर्फको नतिजा आउँन बाँकी छ। बागमतीमा सरकार बनाउन ६१ सिटको बहुमत पुर्‍याउनु पर्छ।

हालसम्मको परिणामअनुसार बाग्मतीमा समानुपातिकतर्फ एमाले पहिलो स्थानमा रहँदा गठबन्धनको कांग्रेस दोस्रो, माओवादी चौथो र समाजवादी छैठौँ स्थानमा छन्। राप्रपा तेस्रो र नेमकिपा पाँचौ स्थानमा छन्। समानुपातिकसहित यहाँ गठबन्धनले सरकार गठनको लागि आवश्यक बहुमत ६१ भन्दा बढी सिट जित्ने देखिएको छ।

प्रकाशित: १९ मंसिर २०७९ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App