१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सरकारमा दाबी रहन्छ, गठबन्धनको विकल्प खोजिएको छैन’

शनिबार नयाँ सरकार बनाउने विषयमा सबै विकल्पमा खुला रहेको जनाएको नेकपा माओवादी केन्द्रले आइतबार भने गठबन्धनको विकल्पका बारेमा कुरा नै सुरु नभएको जनाएको छ। शनिबार पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्ण बहादुर महराले माओवादी सरकार बनाउने विषयमा एमालेसँग छलफलका लागि पनि खुला रहेको बताएका थिए। तर आइतबार बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग बोल्ने क्रममा महासचिव देव गुरुङले भने सरकारको विकल्पका बारेमा गठबन्धन भन्दा बाहिर विकल्प खोज्ने विषयमा कुनै कुराकानी नै सुरु नभएको बताएका छन्। ‘बैठकमा सरकार गठनको विषय उल्लेख्य रूपमा प्रवेश नै भएको छैन। पहिलो कुरा हामी अहिले पनि गठबन्धनमा भएकाले गठबन्धनमै रहेर सरकार बनाउने बारेमा कुरा हुन्छ,’ उनले भने।  

बैठकमा एमालेसँगको गठबन्धनका बारेमा विषय नै प्रवेश नभएको उनको दाबी थियो। ‘हामी गठबन्धनमै रहेकाले गठबन्धनको विकल्पका बारेमा कुरा सुरु भएको छैन। गठबन्धनसँग कसरी अघि बढ्ने गठबन्धनसँग कति कुरा मिल्छन्, कति मिल्दैनन् भन्ने कुरा गठबन्धनमा निर्भर रहन्छ,’ उनले भने। उनले अहिले नै पार्टीले गठबन्धनको विकल्प नसोचेको बताए।  

सरकारको नेतृत्व दाबी गर्ने विषय भने माओवादी परिवर्तनको मूल बहाक भएकाले स्वभाविक रहेको गुरुङको भनाइ थियो। तर त्रिशंकु संसद् बनेको अवस्थामा दलहरूको आपसी सहमतिबिना भने नेतृत्वको सम्भावना नहुने उनले बताए। ‘गठबन्धनका बीचमा के कस्तो सहमति हुन्छ भन्ने कुराले सरकारको नेतृत्व गर्ने नगर्ने विषय तय हुन्छ। अहिलेको अवस्थामा आपसी सहमति र सहकार्यबीच अघि बढ्न सम्भव छैन,’ उनले भने। पार्टी पदाधिकारीको बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले प्राप्त गरेको मत परिणामका बारेमा प्रारम्भिक समीक्षा गरेको जुरुङले जानकारी दिए। यसबारेमा विस्तृत रूपमा स्थायी समिति बैठकमा समिक्षा हुने उनले बताए। माओवादीको पदाधिकारी बैठकले निर्वाचनमा गठबन्धनका माध्यमबाट सहभागी हुँदा अपेक्षा कृति नतिजा नआए पनि मुलभूत रूपमा सफल नै भएको निष्कर्ष निकालेको छ। ‘निर्वाचनको नतिजालाई स्वीकार गरेरै हामीले अघि बढ्नुपर्छ। बैठकमा पार्टीका सीमा र कमजोरीलाई आगामी दिनमा सुधार गर्दै जाने र पार्टीलाई अझ सशक्त बनाउँदै अघि बढ्ने कुरा भएको छ,’ महासचिव गुरुङले भने। गठबन्धन सम्बद्ध दलहरूकाबीचमा सोमबार बैठक बसेर निर्वाचनको समिक्षा गर्ने कुरा तय भएको उनले जानकारी दिए। 

प्रकाशित: १९ मंसिर २०७९ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App