सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको निर्वाचनमा मुख्यमन्त्रीका प्रवल दावेदार रहेका नेपाली कांग्रेसका दुई मन्त्री पराजित भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल मुख्यमन्त्रीका प्रवल दावेदार थिए। यस अघिको प्रदेश सभामा नेपाली कांग्रेस संसदिय दलको नेता समेत रहेका रावल कैलाली क्षेत्र नं १ को २ बाट पराजित भएका छन्। रावललाई पराजित गर्दै नागरिक उन्मुक्ती पार्टीका लक्ष्मण किशोर चौधरी प्रदेश सभाको यात्रा तय गरेका छन्। रावलले ८ हजार ५३ मत प्राप्त गर्दा चौधरीले ११ हजार ३ सय १७ मत प्राप्त गरे।
यसैगरि मुख्यमन्त्रीका अर्का प्रवल दावेदार समाजिक विकास मन्त्री गोविन्द वोहरा डडेल्धुरा निर्वाचन क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र २ बाट पराजित भएका छन्। वोहरालाई लालटिन चिन्हबाट उठेका स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले पराजित गरेका हुन्। वोहराले १० हजार ७ सय ३७ मत प्राप्त गर्दा जोशीले ११ हजार १ सय ६२ मत प्राप्त गरेका छन्।
दुई वटा मात्र प्रदेश सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेश सभा निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्र र प्रदेश सभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसको भागमा परेको थियो। प्रतिनिधी सभामा प्रधानमन्त्री शेर बहादुर देउवा चुनाव लडेका थिए। जित्ने आधार हुदाँ पनि भागबण्डामा नपरेपछि नेकपा एसका केन्द्रिय सदस्य समेत रहेका डा. तारा जोशी स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका थिए। उनलाई स्थानिय पार्टीका नेता तथा कार्यकर्ताले समर्थन गरेका थिए।
को को छन मुख्यमन्त्रीका दावेदार ?
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागी नेपाली कांग्रेसका तर्फबाट प्रवल दावेदार ५ जना देखिएका थिए। दुई मन्त्री पराजित भएपछि नेपाली कांग्रेसका तर्फबाट कंचनपुर निर्वाचन क्षेत्र २ को २ बाट निर्वाचित बहादुरसिंह थापा, कंचनपुर निर्वाचन १ को २ बाट निर्वाचित दिवान सिंह बिष्ट र कैलाली निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित कमल शाह मुख्यमन्त्रीका प्रवल दावेदारको रुपमा देखिएका छन्।
प्रधानमन्त्री देउवाको भतिजा प्रकाश देउवा कैलाली निर्वाचन क्षेत्र ५ को २ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। देउवालाई पनि मुख्यमन्त्री दावेदारको रुपमा हेरिएको छ। उनी आफैले अहिलेसम्म मुख्यमन्त्रीको दावी गरिसकेका नभएपनि देउवालाई मुख्यमन्त्री बनाउनु पर्छ भनेर कांग्रेसका केहि कार्यकर्ता समाजिक सन्जालमा लेखेर माहोल बनाउने प्रयासमा देखिएका छन्।
माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेमा माओवादी केन्द्रका तर्फवाट डडेल्धुरा प्रदेश सभा निर्वाचन १ बाट निर्वाचित खगराज भट्ट मुख्य दावेदार रहेका छन्। ३ पटक प्रधानमन्त्री देउवा सँग चुनाव हारेका भट्ट अहिले गठबन्धनका तर्फबाट देउवाकै सहयोगमा चुनाव जितेका हुन्।
भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर नै प्रदेश सभामा चुनाव लड्न मन्जुर गराएको उनी निकटस्थहरुले बताउने गरेका छन्। प्रदेश सरकारमा पुरै कार्यकाल पुरा गर्ने सौभाग्य पाएका मुख्यमन्त्री त्रिलोचन भट्टलाई अन्तिम समयमा डोटीबाट प्रदेश सभा सदस्य टिकट नदिई उनका स्वकिय सचिव शिव ओलीलाई दिइएको थियो।
ओली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मुख्यमन्त्री भट्टले टिकट नै नपाएपछि डडेल्धुराबाट निर्वाचित भट्ट माओवादी केन्द्रवाट निर्विकल्प जस्तै मुख्यमन्त्रीका दावेदार रहेको माओवादी केन्द्रका एक नेताले बताए।
प्रदेश सभामा ३२ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा बाजुराका दुई निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी रहेको छ। ३० निर्वाचन क्षेत्रको मत परिणाम अनुसार नेपाली कांग्रेसले ११ स्थानमा जित हात पारेको छ। भने माओवादी केन्द्रले ८ स्थान जितेको छ। केहि महिना अघि मात्र स्थापना भएको नागरिक उन्मुक्ती पार्टी प्रदेश सभामा ५ स्थान जित्न सफल भएको छ। भने नेकपा एमालेले ३ स्थान र नेकपा एकिकृत समाजवादीले २ स्थानमा जितेको छ। समानुपातिक तर्फ गणना भैरहेको मत परिणाम अनुसार भने नेकपा एमाले सवैभन्दा अगाडी देखिएको छ।
प्रकाशित: १३ मंसिर २०७९ १३:०५ मंगलबार