५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रौतहटका नब्बे प्रतिशत उम्मेदवारको जमानत जफत

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रौतहटबाट उम्मेदवारहरुमध्ये नब्बे प्रतिशत भन्दा बढीको जमानत जफत भएको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव जितेर माननीय बन्ने सपनासहित आफूलाई जनताबाट अनुमोदन गराउन गएका नब्बे प्रतिशत उम्मेदवारले जमानत जफत गराएका हुन्। रौतहटमा रहेका चार प्रतिनिधि सभा सदस्य सिट र आठ प्रदेश सभा सिटमध्ये अधिकांश सिटमा दुई पक्षीय प्रतिस्पर्धा भएको थियो। दुई पक्षीय प्रतिस्पर्धा हुँदा नब्बे प्रतिशतभन्दा बढी उम्मेदवारको जमानत नै जफत भएको हो।

रौतहटमा प्रतिनिधि सभा उम्मेदवारमध्ये ५८ जना र प्रदेश सभाका उम्मेदवारमध्ये ११० जना गरी १६८ जना उम्मेदवारको जमानत जफत भएको छ।

रौतहटको प्रतिनिधि सभाको ४ निर्वाचन क्षेत्रमा ६७ जनाले उम्मेदवारी दिएका थिए जसमध्ये ५८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको हो। प्रतिनिधि सभाको लागि निर्वाचन क्षेत्र १ मा १७ जना उम्मेदवार दिएका मध्ये १५, निर्वाचन क्षेत्र नम्बर २ मा १३ जना मध्ये ११, निर्वाचन क्षेत्र ३ मा १९ जना मध्ये १६ र निर्वाचन क्षेत्र नम्वर ४ मा १८ जना मध्ये १६ जना गरी ५८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन्।

यसै गरी प्रदेश सभातर्फ १३५ जना मध्ये ११० जना उम्मेदवारको जमानत जफत भएको दासको भनाइ छ। निर्वाचनमा उम्मेदवार भएकाले जमानत पनि बचाउन नसक्नुलाई प्रतिष्ठाको रुपमा लिने गरिएको छ। 

एक उम्मेदवारले निर्वाचन खर्च तथा गाडी सुविधा र मतदान प्रतिनिधिको लागि एकभन्दा बढी उम्मेदवार खडा गर्ने प्रवृत्ति रहेको कारण पनि उम्मेदवारको संख्या बढी हुने गरेको देखिएको छ।

प्रकाशित: १३ मंसिर २०७९ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App