१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीमा युवालाई अगाडी बढाउने भए म तयार छु: काँग्रेस सहमहामन्त्री राठौंर

नेपाल प्रेस युनियन बाँकेले गरेको पत्रकार भेटघाटमा काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौंर। तस्बिर: नागरिक

नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरले प्रधानमन्त्रीमा युवालाई अगाडी बढाउने भए प्रधानमन्त्री बन्न आफु तयार रहेको बताएका छन्।

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका नवनिर्वाचित सांसद समेत रहेका राठौरले पार्टी र गठबन्धनभित्र छलफल नहुँदै प्रधानमन्त्री बन्ने विषयलाई ब्यक्तिगत रुपमा चर्चामा ल्याउन उचित नहुने बताए।

‘हामीले भर्खरै जितेका छौं, कतिले हारेका छौं, कतिपय ठाउँमा मत परिणाम आएको छैन, पार्टीभित्र र गठबन्धन दलभित्र छलफल भएको छैन,’ उनले भने। तर, युवा प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र छलफल भएमा सबैभन्दा बढी हकदार आफु हुने नेता राठौंरले प्रष्ट्याए। 

‘युवा उहाँ (गगन थापा र विश्वप्रकाश शर्मा) मात्र होईन, उहाँहरुभन्दा सिनियर म छु, म पनि युवा नै हो, म पनि तयार छु नि प्रधानमन्त्री चलाउनलाई,’ उनले भने ‘उहाँ (गगन थापा) स्ववियु सदस्य हुँदा म त्रिचन्द्र कलेजको स्ववियु सभापति थिए, म पनि तयार छु नि युवामा, गगन जि मात्र होईन, अरु साथीहरु प्रदिप जि पनि तयार हुनुहुन्छ।’

युवा प्रधानमन्त्री चाहिएको भए पार्टीभित्र छलफल हुनुपर्ने सहमहामन्त्री राठौंरले बताए। उनले थपे, ‘युवा जेनेरेसन चाहिएको हो भने छलफल गरौं न, गगन नै मात्र किन त? या विश्व प्रकाश मात्रै किन त ? ह्वाई नट प्रदिप, ह्वाई नट किशोर राठौंर, ह्वाईनट अरु। युवा भनेपछि गगन र विश्व प्रकाश मात्रै होईन नि, हामीले अवसर पाएका छैनौ, हामीले अवसर पाउने हो भने देखाईदिन्छौं, हामीले हिजोका दिनमा देखाएका पनि छौं।’

थापा र शर्मालाई विश्वास गरेर पार्टीका नेता, कार्यकर्ताले महामन्त्री बनाएकाले उनीहरुले पार्टीलाई नै बनाएर देखाउनुपर्ने सुझाव दिए।

‘पार्टीलाई बनाएर देखाएको हामी हेर्न चाहन्छौं, त्यसमा हामीले के सहयोग गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौं,’ सहमहामन्त्री अगाडी राठौंरले थपे। महामन्त्रीद्धय थापा र शर्माले पाँच वर्षसम्म पार्टीलाई बनाएर देखाउनुपर्ने उनले बताए।

पत्रकारको जिज्ञासामा राठौंरले संगठनको कमजोरी र नेतृत्व तहमा भएका नेताहरुले काम नगरेका कारण कतिपय ठाउँमा पार्टीले चुनाव हार्नुपरेको बताए। ‘पार्टीको जिम्मेवार तहमा बसेर पार्टीलाई असहयोग गरेका कारण पनि हार भएको हामीले महसुुस गरेका छौं, भोलीका दिनमा यो कुराको छानविन हुन्छ, पार्टीको क्रियाशिल सदस्य भनेको नेता हो, पार्टीको क्रियाशिल सदस्य भएर पार्टीलाई सहयोग नगर्ने पार्टी विरोधी कुरा हो, यसले पार्टीलाई अगाडी बढाउन सक्दैन।’ पार्टीभित्र बसेर पार्टीलाई घात गर्नेलाई कारबाही नगर्ने हो भने पार्टी अगाडी बढ्न नसक्नेमा जोड दिए। अनुशासन नभए घर नबन्ने र पार्टीभित्र अनुशासन, त्याग, तपस्या र बलिदान नभएमा पार्टी नबन्ने उनको बुझाई छ। अहिलेका युवाले पाउने कुरा मात्रै गर्ने गरेको बताए।

प्रकाशित: १२ मंसिर २०७९ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App