संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीमा पुनरागमन भएको छ। २०७४को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्ष्यतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ। राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ ५ लाख १६ हजार मत कटाइसकेको छ। यस हिशाबबाट समानुपातिकमा राप्रपाले ७ देखि ८ सिट पाउने निश्चित भएको छ।
२०७४ को निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टीको रूपमा स्थापित भएन। राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र संसद्मा विजयी भएका थिए। त्यतिबेला राप्रपा ३ वटा पार्टीको रूपमा विभाजित भएको थियो। कमल थापाले नेतृत्व गरेको राप्रपा, पशुपति शसमेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) तथा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) छुट्टाछुट्टै पार्टीको रूपमा चुनावमा होमिएका थिए। त्यतिबेला राप्रपाबाट लिङ्देन मात्र विजयी भएका थिए।
राप्रपाका केन्द्रीय सदस्य तथा पूर्वउपाध्यक्ष राजाराम श्रेष्ठले २०७४को तुलनामा यतिबेला धेरै परिवर्तन भइसकेको भन्दै यसपटक राप्रपा शक्तिको रूपमा स्थापित भएको बताए। ‘अब राप्रपा एउटा शक्ति बनेको छ,’ उनले भने। राप्रपाको इतिहास २०४६ सालको जनआन्दोलनपछि २०४७ बाट सुरु भएको हो। स्थापना हुने बेला नै राप्रपा २ भागमा बाँडिएको एउटा राप्रपाको नेतृत्व सूर्यबहादुर थापा र अर्को राप्रपाको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरेका थिए। २०४८ सालको निर्वाचनमा थापाले नेतृत्व गरेको राप्रपाले १ सिट तथा चन्दले नेतृत्व गरेको राप्रपाले ३ सिटमा विजयी भएको थियो। त्यततिबेला राप्रपा (थापा)बाट अकबरबहादुर सिंह तथा राप्रपा (चन्द)बाट पशुपति शसमेर राणा, रामकृष्ण आचार्य तथा डा. प्रकाशचन्द्र लोहनी विजयी भएका थिए।
२०५१ सालको निर्वाचनमा राप्रपाले २० सिटमा विजयी भयो। डा. प्रकाशचन्द्र लोहनीको सांसद पदलाई भने सर्वोच्चले उल्टाएपछि राप्रपा १९ सिटमा खुम्चियो। यही बेला राप्रपाबाट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पालैपालो प्रधानमन्त्री भए। २०५१ सालको निर्वाचनसम्म तत्कालीन राप्रपा (थापा) र राप्रपा (चन्द)बीच एकीकरण भई राप्रपा एक भइसकेको थियो। २०५१ मा एक भई चुनाव लडेको राप्रपा चुनावपछि एक हुन सकेन।
२०५६ सालको निर्वाचनसम्म राप्रपा विभाजित भइ दुई वटा पार्टी बने। २०५६ मा सूर्यबहादुर थापाले नेतृत्व गरेको राप्रपा र राजेश्वर देवकोटाले नेतृत्व गरेको राप्रपा (राष्ट्रवादी) छुट्टाछुट्टै पार्टीको रूपमा चुनावमा भाग लिए। त्यति बेला राप्रपाले १२ सिटमा विजयी भयो भने राप्रपा (राष्ट्रवादी)ले एक सिटमा पनि विजयी भएन।
२०६४ को पहिलो संविधान सभाको निर्वाचनसम्म राप्रपा फेरि फुट्यो। त्यतिबेला राप्रपाबाट विभाजित भइ ३ वटा पार्टी बने। पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा, सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टी तथा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल चुनावमा भाग लिएका थिए। त्यति बेला संविधान सभामा राप्रपा नेपालले ४ सिट, राप्रपाले ८ सिट तथा जनशक्तिले ३ सिट समानुपातिकतर्फ ल्याएका थिए। त्यति बेला राप्रपाले ३ लाख १० हजार २ सय १४, राप्रपा नेपालले ७९ हजार ९ सय २५ तथा जनशक्ति पार्टीले ७६ हजार ६सय ८४ मत ल्याएको थियो।
२०७० को निर्वाचनमा राप्रपा नेपालले समानुपातिक तर्फ २५ सिटमा विजयी भयो भने राप्रपा १२ सिटमा विजयी भयो। त्यतिबेला राप्रपा नेपालले १० लाख ८ हजार ८ सय ८३ तथा राप्रपाले २ लाख ३८ हजार ३सय ९३ भोट देशभरि ल्याएको थियो।
३ नयाँ दल थपिँदै
यसपटक संसदमा ३ वटा नयाँ दल प्रवेश गर्ने भएका छन्। रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी, रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी तथा सिके राउतले नेतृत्व गरेको जनमत पार्टी संसद् प्रवेश गर्ने भएका छन्। यी ३ पार्टीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय पार्टीको रूपमा मान्यता पाउने निश्चित छ। अहिलेसम्म स्वतन्त्र पार्टीले प्रत्यक्ष्यतर्फ ७ सिटमा विजयी भएको छ। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी प्रत्यक्ष्यतर्फ ३ र १ सिटमा विजयी भएका छन्। समानुपातिकतर्फको पूरै परिणाम आउन बाँकी भएकाले कति सिट सुरक्षित हुन्छ भन्ने यकिन भएको छैन।
प्रकाशित: १२ मंसिर २०७९ ००:४३ सोमबार