५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मतदाता भेट्दै पराजित उम्मेदवार

विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, निर्वाचन अघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्। तर यतिबेला जुम्लामा भने विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरु पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्। 

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिसिभाको निर्वाचनमा विजयी भएका उम्मेदवारहरु टोलटोलमा पुगेर विजयोत्सव मनाइरहँदा पराजित उम्मेदवारहरु पनि टोलटोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।

जिल्लाका दुईवटै निर्वाचन क्षेत्रबाट विजयी भएका उम्मेदवारहरु घरदैलो गर्दै मतदाताबाट बधाई थापिरहेका छन्। निर्वाचनमा पराजित भएका सत्ता गठबन्धनबाट उमेद्वारी दिएकी गोम गौतम (कुवर) पनि घरदैलो अभियान गरेरै मतदातालाई धन्यवाद ज्ञापन गर्न जुटेकी छिन्।

प्रतिनिधिसभातर्फ जुम्ला बाट निर्वाचित राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) बहादुर शाही, प्रदेश (क) स्वतन्त्र बाट निर्वाचित देवेन्द्र बहादुर शाही र जुम्ला प्रदेश (ख) बाट निर्वाचित टेकराज पछाईले आ–आफ्ना क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिँदै निर्वाचन अघिका वाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। साथै मतदातालाई भेट्दै बधाई साटासाट गरिरहेका छन्। 

उनीहरुले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका साथै समग्र जिल्लाको विकासका लागि काम गर्ने प्रतिबद्धता मतदातासामु दोहोर्‍याएका छन्। 'निर्वाचन अघि जुन एजेन्डाहरु लिएर भोट मागेका थियौं, अहिले जितिसकेपछि पनि मतदाताहरु माझ पुगेर तिनै वाचा पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छौं' प्रतिनिधिसभा सदस्यमा विजयी ज्ञानेन्द्र शाहीले भने।

अब नयाँ सरकार बन्ने र त्यसपछि विकास हुने आश्वासन विजयी उम्मेदवारहरुले बाँडिरहेका छन्। विगतमा निर्वाचनको बेला मत माग्न मात्र जाने तर विजयी भइसकेपछि फर्केर नहेर्ने संस्कारको अन्त्य गर्न आफूहरु परिणाम आइसकेपछि पनि मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिइरहेको उनि बताउँछन्।

प्रदेशसभा (ख) बाट निर्वाचित सांसद टेकराज पछाई,उनले चुनावअघि मात्र होइन, विजयी भइसकेपछि पनि पुनः मतदातासम्म पुगेर धन्यवाद दिनुपर्ने संस्कारको विकास गर्नुपर्ने बताए। यसले आफ्ना जनप्रतिनिधिहरुप्रति मतदाताको विश्वास अझ बलियो हुने उनको भनाइ छ। 'हामीले जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने प्रतिबद्धता गरेका थियौं, सोही अनुसार विजयी भइसकेपछि पनि जनताले फर्केर आएनन् भन्ने गुनासो गर्न नपरोस् भनेर पुनः मतदाता कहाँ पुगिरहेका छौं', उनले भने।

विजयी सांसदहरु मतदाता भेट्दै खुसियाली साटिरहँदा प्रतिनिधिसभा पराजय भोगेकी सत्ता गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुवर) पनि गाउँ–गाउँमा पुगिरहेकी छन्। चुनावी परिणामको समीक्षा गर्दै उनी मतदाता भेट्न थालेकी हुन्। हारेपनि कहीं कतै विचलित नभएको उनी बताउँछिन्।

उनि जिल्लाको पातारासी, गुठिचौर,हिमा र तिला गाउँपालिकामा चुनावी समिक्षा कार्यक्रममा पुगिसकेकी छिन्। अब कनकासुन्दरी, तातोपानी र सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिका पनि पुग्ने बताउँछिन्।

उनले निर्वाचनमा हार जित हुनु स्वाभाविक प्रक्रिया भएको बताइन्। 'आफू पराजित भए पनि कहीं कतै विचलित भएको छैन्, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु।' उनले भनिन्। निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन नेतृ गौतम अहिले मतदाताहरुको घरदैलोमा पुगिरहेकी छिन्।

उनले समीक्षामा पराजित हुनुका कारणहरु केलाउँदै आगामी दिनमा पार्टी सशक्त बन्ने र त्यसका लागि नेता–कार्यकर्तालाई अहिल्यैदेखि खटिन समेत अपिल गरिन्।

प्रकाशित: ११ मंसिर २०७९ १६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App