३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा २० उम्मेदवारको जमानत जफत

ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका २६ मध्ये ६ जना बाहेक २० जनाको जमानत जफत भएको छ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार खसेको कूल सदरमतको कम्तिमा १० प्रतिशत मत ल्याउने उम्मेदवारको जमानत जोगिने छ। निर्वाचनमा विजयी र निकटतम् प्रतिश्पर्धी बाहेक अरु सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधिसभातर्फ बिजयी एमालेका योगेशकुमार भट्टराई र निकटतम् प्रतिश्पर्धी सत्ता गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री‘पराग’बाहेक अरु ९ जनाको जमानत जफत भएको छ। प्रतिनिधिसभामा २ स्वतन्त्र सहित ११ प्रतिश्पर्धी थिए।

प्रतिनिधिसभातर्फ राप्रपाका रामबहादुर कार्कीले ०.८७ प्रतिशत,राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर लिम्बूले ०.५७ प्रतिशत, मगोल नेस्नल अर्गनाइजेसनका बिक्रम लिम्बूले ०.२८ प्रतिशत,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेले २.०२ प्रतिशत, जनता समाजवादी पार्टीका चन्द्र मादनले १.३५ प्रतिशत, स्वतन्त्र सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालले क्रमशः ०.४१ र ०.०६ प्रतिशत, लोकतान्त्रिक समाजवादी पार्टीका चैतन्यप्रसाद केदेमले ०.१३ प्रतिशत र  जन समाजवादी पार्टीका कृष्ण लिम्बूले ०.१२ प्रतिशत मत पाएका छन्।

प्रदेशसभा निर्वाचन क्षेत्र नं १ तर्फ विजेता एमालेका तिलकुमार मेन्याङ्वो र निकटतम् प्रतिश्पर्धी सत्ता गठबन्धनतर्फ नेकपा एसका खेमबहादुर वनेम बाहेक ६ जनाको जमानत जफत भएको छ। प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा एक स्वतन्त्र सहित ८ जना प्रतिश्पर्धी थिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार राप्रपाका चन्द्रबहादुर थापाले ३.२७ प्रतिशत, जनमुक्ति पार्टीका मोतिलाल लिम्बूले ०.९८ प्रतिशत, जसपाका युगराज गुरुङले २.८२ प्रतिशत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भूपेन्द्र मावोले ४.९१ प्रतिशत, स्वतन्त्र उम्मेदवार मीनाकुमारी गुरुङले ३.२५ प्रतिशत र मंगोल नेस्नल अर्गनाइजेसनका नेत्रप्रसाद ताम्लिङले ०.६६ प्रतिशत मत ल्याएका छन्।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा विजयी सत्ता गठबन्धनतर्फ काँग्रेसका उम्मेदवार खगेनसिंह हाङ्गाम र निकटतम् प्रतिश्पर्धी एमालेका गोपाल थोप्रा बाहेक अरु ५ जना उम्मेदवारको जमानत जफत भएको छ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट राप्रपाका उम्मेदवार ललितकुमार लिम्बूले ०.५५ प्रतिशत,जनमुक्ति पार्टीका यामकुमार आङबुहाङले ०.७४ प्रतिशत,जसपाका नवीन लिम्बूले १.७८ प्रतिशत,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बूले २.७० प्रतिशत र मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बूले ०.३४ प्रतिशत मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले १० हजार र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले ५ हजार रुपैंया जनामत (धरौटी) राख्नुपर्ने व्यवस्था थियो। जनामत जोगिनेले यसअघि राखेको धरौटी रकम फिर्ता पाउने छन्।

प्रकाशित: ११ मंसिर २०७९ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App