३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले अगाडि

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता लिइरहँदा समानुपातिक मततर्फ भने एमाले अगाडि छ। प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व हुने १६५ सिटमध्ये शुक्रबार साँझसम्म सार्वजनिक परिणाममा कांग्रेसका उम्मेदवारले धेरै स्थानमा जितेका छन्। प्रतिनिधिसभामा समानुपातिक निर्वाचनबाट ११० जनाको प्रतिनिधित्व हुन्छ। समानुपातिकतर्फ एमालेले सुरुदेखि अग्रता कायम गर्दै पहिलो स्थान ओगटेको छ भने कांग्रेस दोस्रोमा छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ शुक्रबार साँझसम्म कांग्रेसले ४४ र एमालेले ३८ स्थानमा जितेको अवस्था छ। प्रत्यक्षतर्फ १५ सिट जितेर तेस्रो स्थानमा रहेको माओवादी केन्द्र समानुपातिकतर्फ पनि सोही स्थान लिन प्रयासरत छ। समानुपातिकतर्फ माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात क्षेत्रमा जित निकालेको छ। समानुपातिकतर्फ शुक्रबार साँझसम्म एमालेले १५,३०,४८५, कांग्रेसले १४,५५,०६२ राष्ट्रिय स्वतन्त्र पार्टीले ६,७८,५८६ र माओवादीले ६,४६,६५४ मत पाएका छन्।

पछिल्लोपटक सार्वजनिक नतिजाअनुसार शुक्रबार कांग्रेसका शेखर कोइराला मोरङ ६, सुनिल शर्मा मोरङ ३, दीपक खड्का संखुवासभा, रामकृष्ण यादव धनुषा २, मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक २, राजु थापा स्याङ्जा १, दीपक गिरी दाङ ३, विनोद चौधरी नवलपरासी पश्चिम १, सञ्जय गौतम बाँके १, चन्द्रकान्त भण्डारी गुल्मी १, डिल्लीराज पन्त कैलाली ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

त्यस्तै एमालेबाट अम्बरबहादुर रायमाझी उदयपुर २, वसन्तकुमार नेम्वाङ पाँचथर, जुलीकुमारी महतो धनुषा ३, अच्युत मैनाली बारा १, ज्वालाकुमारी साह बारा ३, हरिप्रसाद उप्रेती सर्लाही ३, लीलानाथ श्रेष्ठ सिरहा ३, गोकुल बाँस्कोटा काभ्रे २, मनबहादुर गुरुङ कास्की १, दामोदर पौडेल कास्की ३, बलराम अधिकारी कपिलवस्तु १, ठाकुर गैरे पाल्पा २, मंगलप्रसाद गुप्ता कपिलवस्तु ३, तारा लामा तामाङ कञ्चनपुर १ र दामोदर भण्डारी बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

यसैगरी माओवादी केन्द्रका सुदन किराती भोजपुर, अमनलाल मोदी मोरङ ४, लेखनाथ दाहाल सिन्धुली २, जनार्दन शर्मा रुकुम पश्चिम, हितबहादुर तामाङ नुवाकोट १, गिरिराजमणि पोखरेल महोत्तरी १ बाट निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका धु्रवबहादुर प्रधान नवलपरासी पश्चिम २, जनता समाजवादी पार्टी (जसपा) का वीरेन्द्रप्रसाद महतो सिरहा ४, लोेकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी महोत्तरी २ र महन्थ ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका छन्।

प्रकाशित: १० मंसिर २०७९ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App