नेपाली काँग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुन बताएका छन्।
विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहको भनाई थियो। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
उनले भने, ‘राष्ट्रकै नीति निर्माण गर्ने, कानुन बनाउने काममा हामी फोकसिङ गर्छौ। तर त्यति भन्दैमा फेरी पनि तपाई हामीले एउटा के कुरा बुझ्नु प¥यो भने सांसद भनेपछि केवल कानुन निर्माण गर्ने मात्र नभईकन जुन क्षेत्रको आफूले प्रतिनिधित्व गरेको हुन्छ, त्यो क्षेत्रको हरेक किसिमका पूर्वाधार विकासदेखि लिएर, सामाजिक विकृति हटाउनेदेखि लिएर, आर्थिक सम्पन्नता गराउनका लागि रुचिका साथ ध्यान केन्द्रित गरेर कार्य पनि त्यही अनुसार अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ। र चुनावको बेलामा मात्रै हो आफ्नो पोलिटिकल्ली एजेण्डा, आफ्नो नीति तथा कार्यक्रम लिएर जनतामा जाने हो। तीन वटै तहका सरकार अधिकार सम्पन्न हुनेगरी संघीय कानुनहरु बनाउने र त्यसपछि आएर जनताको चाहना अनुसार निर्वाचनका क्षेत्रका आ–आफ्नै किसिमको पूर्वाधार विकासदेखि लिएर, खानेपानीको देखि लिएर, बेरोजगारलाई रोजगार बनाउनेदेखि लिएर, शिक्षा, स्वास्थ्यमा जुन सुधार ल्याउनुपर्ने हो, भ्रष्टचार मुक्त मुलुक बनाउने कुरामा हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ।’
नेता सिंहले जनाताको चाहना अनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने दोहोराए। त्यस अवसरमा उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई पनि धन्यवाद दिए। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै कार्यकालको सफलताको कामना समेत गरेका थिए।
प्रकाशित: ९ मंसिर २०७९ १०:२९ शुक्रबार