coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उदयपुर १ मा निरन्तर गठबन्धनको अग्रता

उदयपुर १ का प्रतिस्पर्धीहरु काँग्रेसका खड्का र एमालेकी चौधरी। तस्विरः महेश्वर

उदयपुर १ मा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् तर, मतान्तर घरी बढी घरी झिनो हुने गरेको छ। बिहीबार साँझ ६ः४५ बजेसम्मको मतगणना परिणाम अनुसार प्रतिनिधिसभामा काँग्रेसका डा. नारायण खड्काले १४ हजार २ सय ४१ मत ल्याएका छन्। उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १२ हजार ८ सय ३२ मतले पछ्याईरहेकी छिन्।

३४ हजार ७९ मत गनिसक्दासम्म खड्काले चौधरीभन्दा १ हजार ४ सय ९ मतले अग्रता कायम राखेका छन्। यहाँ कुल खसेको मत संख्या ७६ हजार ५ सय ७६ हो।

प्रदेशसभातर्फ (क) मा माओवादीका राजन किराती (बासु) ले ११ हजार ५ सय २४ मत ल्याएका छन्। एमालेका कुशलबाबु बस्नेतले १० हजार ६ सय ९२ मत पाएका छन्। २९ हजार ६ सय ७२ मत गणना गर्दासम्म किराती बस्नेतभन्दा ८ सय ३२ मतले पछाडि रहेका छन्। (ख) तर्फ काँग्रेसका हिमाल कार्कीले ११ हजार ५ सय ६० मत पाएका छन् भने एमालेका इश्वरमणि राउतले १० हजार ९ सय मत प्राप्त गरेका छन्। २७ हजार ७ सय ८६ मतको गणनामा कार्की राउतभन्दा ६ सय ६० मतले अगाडि छन्।

आँकलन गरिए झैँ यो चुनावमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धन र एमालेबीच कडा टक्कर पर्ने परिणामले देखाउँदै छ। प्रतिनिधिसभामा खड्का र चौधरीबीचको मतान्तर घरी सय हाराहारी, घरी हजार बढीसम्मको पर्दै आएको छ भने प्रदेशतर्फ पनि (क) र (ख) दुवैमा मतान्त्ररको अवस्था त्यही छ।

यसअघि ०६४, ०७० र ०७४ मा ३ पटक सरासर जिनेर ‘ह्याट्रिक’ गरेका डा. खड्का गएको ०७४ संसदीय चुनावमा ५ सय ४७ मत बढी ल्याएर चौधरीलाई परास्त गर्न सफल भएका थिए। तर, त्यसबेला र अहिलेको राजनीतिक परिवेश ठ्याक्कै उल्टो छ। ०७४ मा एमाले र माओवादीबीच गठबन्धन भएकाले उनलाई जित निकाल्न निकै गाह्रो थियो।

त्यस्तो प्रतिकुल परिस्थितिमा पनि जित निकाल्न सफल भएका खड्कालाई यसपटक देखाईमा आफ्नै पार्टी, माओवादी र एकीकृत समाजवादीसमेतको गठबन्धनको बलियो साथ छ। ०७४ मा काँग्रेस एक्लै लड्दा पनि साढे ५ सयले जितेका खड्का अहिले एमालेभन्दा गठबन्धनको झण्डै २२ हजार बढी मतको साथले हार्ने कल्पनै नगरेको कार्यकर्ताहरु बताउँछन्।

काँग्रेस प्रदेश (क) का सभापति अर्जुन दाहालको बुझाईमा ३ पटक जितिसकेका, र पटकपटक मन्त्री भईसकेका, बहालवाला परराष्ट्र मन्त्रीसमेत रहेका र गठबन्धनको दरिलो साथले खड्काको उम्मेदवारी नै चौधरीका लागि पल्लाभारी भएको छ। तर, अहिलेसम्मको मत परिणामले भने खड्का ठूलो फराकिलो मतान्तर ल्याउन नसक्ने संकेत देखिएको उनी बताउँछन्।

दाहालको बुझाईमा गठबन्धनको सबै मत जोड्ने हो भने धेरै मतान्तरको फरक हुनुपर्ने हो। तर, सबै मत उनलाई नखसेको अनुमान प्रारम्भिक परिणामले देखाईसकेको, तै पनि जित्नका लागि भने काफी हुने उनको अनुमान छ। ‘गठबन्धको सबै मत खसेको भए धेरै फराकिलो अन्तर हुन्थ्यो, तर सुरुवाती परिणामले त्यस्तो देखाएन’ दाहालले भने ‘अहिलेकै आँकलनमा कम्तीमा ३ हजार हाराहारी मतान्तरले खड्का जित्ने देखिन्छ।’ प्रदेशतर्फ पनि झिनै मतले भए पनि दुवै सीटमा गठबन्धन जित्ने निश्चित रहेको कार्यकर्ताको आँकलन छ।

प्रकाशित: ८ मंसिर २०७९ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App