१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

विद्या पनि दोहोरिइन्

विद्या भट्टराई २०७६ सालसम्म गुमनाम थिईन्। उनलाई पोखरेलीले कमैले चिन्थे। चिन्नेलेपनि एमाले नेता रवीन्द्र अधिकारीकी श्रीमती भनेर मात्र चिन्थ । यद्दपी उनको राजनीतिक जीवन विद्यार्थी कालबाटै शुरु भएको थियो। उनी एमालेको भातृ संगठन अनेरास्ववियूको केन्द्रीय सचिवालय सदस्यसम्म भईन्। त्यसपश्चात उनी प्राध्यापन पेशामा संलग्न भईन। प्राध्यापन पेशामा रहँदापनि उनले राजनीति छाडेकी भने थिईनन्।

तर २०७६ साल चैतमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो। त्यसपछि रवीन्द्रको ठाउँ कास्की क्षेत्र नम्बर–२ मा रवीन्द्रको विरासत धान्ने व्यक्तिको खोजी भयो। नम्र स्वाभाव, सबैसँग मिल्ने, केन्द्रसम्म राजनीतिक पहुँच भएको रवीन्द्रको विकल्पमा तत्कालीन एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतमदेखि तत्कालीन एमालेमा रहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसम्मको चर्चा भयो। त्यहि भिडमा रवीन्द्र पत्नी विद्याको पनि चर्चा चुलियो।

तर सँधै गुमनाम बस्न रुचाउने विद्याले शुरुमा सकृय राजनीति गर्न खासै चासो दिईनन। चासो नदिएको मात्र होईन उनले प्रष्ट भनेकी थिईन्, ‘म अहिलेको फोहोरी राजनीतिमा आउँदिन। यो भिडसँग जुध्न म सक्दिन।’ तर तत्कालीन एमाले नेतृत्वको आग्रहलाई उनले नकार्न सकिनन् र उप–निर्वाचनमा उनी उम्मेदवार बनिन्। सो निर्वाचनमा उनले नेपाली कांग्रेसका खेमराज शर्मालाई ८ हजार मतान्तरले पराजित गर्दै संसद प्रवेश गरिन्।

अनिच्छाले राजनीतिमा प्रवेश गरेकी विद्याले अहिले दोश्रो पटक बिजयी भएकी छन्। नेतृत्वले काबिल सम्झिएर टिकट पाएकी उनले राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता चुलिएका बेलापनि सोहि दलका माधवप्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै दोश्रो जित चुमेकी हुन्। विद्या १६ हजार ९ सय ९८ मत प्राप्त गर्दै बिजयी हुँदा प्रतिस्पर्धी कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरे भने गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत ल्याए।

प्रकाशित: ८ मंसिर २०७९ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App