६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा गठबन्धनले रोकिएन टोपबहादुर रायमाझीको अपराजित यात्रा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझी प्रतिनिधी सभामा निर्वाचित भएका छन्। रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधी सभा सदस्यमा विजयी भएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन्। कुल ९० हजार ९८८ मतमध्ये ४२ हजार ६७५ मत ल्याएर रायमाझीले आगामी पाँच वर्षका लागी सांसद पक्का गरेका हुन्। निकटतम प्रतिद्वन्दी कांग्रेसका भुसालले ४० हजार ९४५ प्राप्त गरिन्।  

अर्घाखाँचीमा गठबन्धन पुर्ण रुपमा असफल देखिएको छ। पाँच दलिय गठबन्धन बनाएर निर्वाचनमा गएपनी रायमाझीको अपराजित यात्रा रोक्न असफल देखिएका छन्। २०६४ र २०७० मा संविधानसभा सदस्य भएका रायमाझी २०७४ मा नेकपा (माओवादी केन्द्र) बाट बाम गठबन्धनको उम्मेदवार भई विजयी भएका थिए।

तत्कालीन नेकपा विभाजन हुँदा उनी माओवादीमा फर्किएनन्, एमाले मै बसे। केपी ओलीको क्याबिनेटको तीनमहिने मन्त्री बनेकै बेला उनलाई माओवादीले कारवाही गरेपछी सांसद पद खोसियो। पाँच वर्षका लागि सांसद बनेका उनी साढे तीन वर्षमा नै पदविहीन बने।  

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९, फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०४३ मा अनेरास्ववियु छैटौंको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अध्यक्ष बनेका उनी २०४८ मा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको संस्थापक अध्यक्ष भए।  

२०४८ मा पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी डा. बाबुराम भट्टराईसँगै एकता केन्द्रमा गए। नेकपा (माओवादी) ले सशस्त्रयुद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज बने। २०५५ मा माओवादीको पोलिटब्यूरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिवमा निर्वाचित भए।  

तत्कालीन माओवादीमा डा. भट्टराई समूहमा रहेका उनी नयाँ शक्तितिर भने गएनन्। त्यसरी बाबुरामको साथ छाडेका उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनाइदिए। संविधान निर्माणपछि बनेको केपी शर्मा ओली नेतृत्वको त्यो सरकारमा रायमाझीले माओवादीको नेतृत्व गरेका गरेका थिए।

त्यसअघि २०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए। हाल नेकपा एमालेका केन्द्रिय सचिव रहेका रायमाझी ओलीका विश्वास पात्र मानिन्छन्।

प्रकाशित: ८ मंसिर २०७९ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App