६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा स्थगित मतगणना अझै सुरु भएन

गएराति १२ बजेदेखि स्थगित इलाम क्षेत्र नम्बर १ को मतगणना करिब १४ घन्टा बित्दा पनि पुनः सुरु हुन सकेको छैन। सहमतिका लागि बैठक बस्न दलका प्रतिनिधि सहभागी नभएपछि मतगणना चालु गर्न नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपेटिकामा रहेको सिलको विषयमा विवाद भएपछि गणना रोकिएको थियो। निर्वाचन अधिकृत राजकुमार दाहालले पुनः गणनाका लागि दलहरूबीच सहमतिको प्रयास भइरहेको जानकारी दिए। मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेका हुन्। ‘हामीले उम्मेदवारका प्रतिनिधिलाई रुजु नगराइ मतपेटिका खोलेका होइनौं, रुजु गराएका हौं तर मतपेटिका खोलिसकेपछि प्रदेशसभाका एक उम्मेदवार आएर यो रुजुबिनै खोलियो भन्दै विवाद गर्नुभयो,’ दाहालले भने, ‘त्यसपछि वातावरण केही खल्बलिँदा राति सहमतिका लागि छलफल हुन सकेन।’

यो क्षेत्रको २३ हजार ८ सय ६५ मतगणना सकिएको छ। रातिसम्मको गणनामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन्। नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। मतगणना सूर्याेदय नगरपालिकको सभाहलमा भइरहेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App