उदयपुर १ मा संघ र प्रदेश दुवैतर्फ गठबन्धनको अग्रता कायमै छ। प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका डा. नारायण खड्काले एमालेकी मञ्जुकुमारी चौधरीलाई ५ सय बढी मतान्तरले अग्रता लिईरहेका छन् भने प्रदेशसभातर्फ पनि क) र ख) दुवैमा गठबन्धनकै मतान्तर बढी छ।
बुधबार बिहान ५ः०० बजेसम्म गणना भएको १५ हजार ९२ मतमध्ये डा. खड्काले ६ हजार १ सय ५२ मत पाएका छन्। एमालेकी चौधरीले ५ हजार ७ सय २५ मत पाएकी छिन्। चौधरीभन्दा खड्काको ५ सय २६ मत बढी मत आईरहेको छ।
बिहान ८ः३० बजेसम्मको परिणाम अनुसार प्रदेशतर्फ क) मा एमालेका कुशुलबाबु बस्नेतलाई माओबादीका राजन किरातीले उछिनिरहेका छन्। बस्नेतले ४ हजार ७ सय ८३ मत पाउँदा किरातीलाई ५ हजार ४२ मत परेको छ। ख) मा एमालेका इश्वरमणि राउतभन्दा काँग्रेसका हिमाल कार्की हजार २० बढी मतले अगाडि छन्। राउतले ६ हजार ३ सय २ मत पाउँदा कार्कीलाई ७ हजार ३ सय २२ मत परेको छ।
उता २ नं. क्षेत्रका प्रदेशततर्फ पनि गठबन्धनकै अग्रता कायम छ। (क) मा १५ हजार २ मत गनिसक्दासम्म माओबादीका नारायण बुर्जामगर ६ हजार ७ सय ६ मतका साथ अघिअघि हुँदा एमालेका देवराज राई ६ हजार ४ सय ८० मतले पछ्याईरहेका छन्। ख) मा १३ हजार ९ सय ८२ मत गन्दा काँग्रेसका रामकुमार खत्रीलाई ६ हजार ३ सय २ मत प्राप्त भएको छ भने एमालेका जीवनाथ दाहालले ५ हजार १ सय २३ मत पाएका छन्।
प्रतिनिधिसभातर्फ भने क्षेत्र २ को परिणाम अघिल्लो साँझ नै सार्वजनिक भईसकेको छ। त्यहाँ एमालेका अम्मर रायमाझी १५ हजार २ सय ५१ मत लिएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्व एकीकृत समाजबादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त भएको छ। नेपाली काँग्रेसका बागी उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ मत प्राप्त गरेका छन्।
अघिल्लो चुनावमा माओबादीका पोलिटव्युरो सदस्य सुरेककुमार राई (हिमाल)ले जितेको सो क्षेत्रमा अन्तिम समयमा गठबन्धनले खतिवडालाई टिकट दिएको थियो। एकीकृत समाजबादीको कमजोर संगठन भए पनि काँग्रेस र माओबादीको राम्रो पकड रहेको यो क्षेत्रमा गठबन्धनको बलले उठेका खतिवडा अन्ततः पराजित भएका छन्।
०५६ मा एमालेबाट चुनाव जितेका खतिवडा ०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए। चुनाव जितेपछि ५ वर्षसम्म फर्केर नआएको भन्दै असन्तुष्टि पोख्ने गरेका थिए। माओबादीका सुरेश राईको जित सुनिश्चित हुँदाहुँदै गठबन्धनले अलोकप्रिय उम्मेदवार पठाएपछि मतदाताले बिकल्पमा एमाले रोज्न बाध्य भएको स्थानीयहरुको निश्कर्ष छ।
उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ मा भने एमाले विजयी भएको छ। मंगलबार ८ः०० बजे सार्वजनिक नतिजा अनुसार गठबन्धनका उम्मेदवार एकीकृत समाजबादीका जगन्नाथ खतिवडालाई २ हजार ३ सय ५८ बढी मत ल्याउँदै रायमाझी विजयी भएका हुन्।
१५ हजार २ सय ५१ मत लिएर चुनाव जित्दा खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त भएको छ। चुनावी माहौल राम्रो बनाएको भन्दै धेरैले जित्ने आँकलन गरे पनि नेपाली काँग्रेसबाट बागी उम्मेदवार बनेका पार्टी क्षेत्रीय सभापति रामकुमार राई तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका छन्। उनले १० हजार ३ सय ७९ मत प्राप्त गरेका छन्।
मंगोल नेश्नल अर्गनाईजेसनले १ हजार ४ सय ३० मत लिएको छ भने घण्टी चिन्हको स्वतन्त्र पार्टीलाई ९ सय १० मत परेको छ। राप्रपाले ४ सय ८१ मत पाउँदा जसपालाई ३ सय ६७ मत परेको छ। अघिल्लो दिन दिउसोदेखि सुरु भएको गणनामा ४४ हजार ८ सय ७५ मत गन्न २६ घण्टा लागेको निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताए।
प्रतिनिधिसभाको मत गणना सकिएसँगै प्रदेशसभा र समानुपातिकतर्फको गणना प्रारम्भ गर्ने तयारी भईरहेको छ। १ नं. क्षेत्रमा प्रतिनिधिसभा, प्रदेश र समानुपातिकको गणना सँगसँगै भईरहे पनि २ नं. मा पहिले प्रतिनिधिसभा सकेपछि मात्र प्रदेश र समानुपातिक गन्ने निर्णय सर्वदलीय बैठकले गरेको थियो।
प्रकाशित: ७ मंसिर २०७९ ०५:२५ बुधबार