नेकपा एमाले बाजुराका उम्मेदवारको तर्फबाट १७ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेको छ। सत्ता र शक्तिको चरम दुरुपयोग गरि नेपाली काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेका १७ वटा मतदान केन्द्रमा पुन मतदान गर्न माग सहित उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
सत्ता र शक्तिको दुरुपयोग गरि हिंसात्मक घटना घटाएर बुथ कब्जा मार्फत मतदान गरिएका मतदान केन्द्रमा पुन मतदान गरि पाउँ भन्ने निवेदन सहीत उम्मेदवारका तर्फबाट उजुरी दिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार लालबहादुर थापाले बताएका छन्।
उजुरी नेकपा एमालेस्थायी कमिटी सदस्य तथा प्रतिनिधी सभा सदस्य उम्मेद्धवार कर्णबहादुर थापा, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सभा २ उम्मेद्धवार लालबहादुर थापा, केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा समानुपातिक उम्मेद्धवार दयालबहादुर शाही, प्रदेश कमिटी उपसचिव तथा प्रदेश सभा १ उम्मेद्धवार बल्देव रेग्मी, बाजुरा जिल्ला पार्टी कार्यालय सचिव तथा प्रदेश सभा समानुपातिक उम्मेद्धवार काशी विकले सयुक्त रुपमा गरेका हुन्।
मतदान केन्द्रमा बसेका पार्टी प्रतिनिधीलाई कुटपीट गरेर बाहिर पठाएर लोकतन्त्र र विधीको शासन व्यवस्था विपरित प्रहरीको प्रत्यक्ष संलग्न र कर्मचारी संयन्त्रलाई दबाबमा राखेर मतदान भएकोले आफूहरुलाई मान्य नहुने एमालेका उम्मेदवारहरुको उडान छ।
मतदान केन्द्रमै हात हतियार देखाएर लखेटिएको, केही केन्द्रमा प्रतिवाद गर्दा कुटपीट सहीत हत्या समेत गरिएको, सूर्य चिन्हमा मतदान गरिएका मतपत्र मतदान स्थलमा बेवारिसे अवस्थामा भेटिएको, प्रहरी प्रशासनबाटै मतदानका लागि वातावरण मिलाएको, मतपेटीका समेत शिल नगरि मतगणनाका लागि मार्तडी पुर्याइएको जस्ता प्रमाण राखेर एमाले उम्मेदवारले उजुरी दिएका हुन्।
धाँधली भएका रबुथ कब्जा गरिएका १७ मध्ये अधिकांशमा मतदान प्रक्रिया स्थगीत गर्न निवेदन दिँदा पनि मतदान अधिकृतले वेवास्ता गरेको, केही कर्मचारी आफै मतदानमा भाग लिएको, मत पत्र समेत एक जनालाई दुई दिएर मतदान गराएको, आफ्नो बुथ छोडेर अर्को बुथ कब्जा गरेको जस्ता प्रमाण पनि नेकपा एमालेका उम्मेदवारले पेश गरेका छन्।
पुन मतदानको माग गरिएका १७ मध्ये बुढीनन्दा ५ मा चुनावी प्रक्रिया नै स्थगीत गरिएको छ। अन्यमा मतदान नै नगरि जबरजस्त पुरा गरिएको, कब्जा गरिएकामा आफै कर्मचारीले मनोमानी शिल गरेर मार्तडी ल्याएको तथ्य पनि एमालेले उजुरी पत्रमा पेश गरेको छ।
नेकपा एमालेले बुढीगंगा नगरपालिका ८ को गिरीखेल्ने आधारभूत विद्यालयको मतदान केन्द्रमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा नगर प्रमुख राम बहादुर बाँनियालाई ज्यानमार्ने उद्धेश्यले नेविसंघको कार्यकर्ता योगेन्द्र रावलले टाउकोमा छुरिले प्रहार दिनभर मतदान कार्य स्थगित गरिएको र बेलुकी एकतर्फी रुपमा नेपाली काँग्रेसका मतदाताहरुले मात्रै मतदान गरेको बताएको छ।
त्रिवेणी नगरपालिका २ र ३ मा नेपाली काँग्रेसका कार्यकर्ताले एमाले र राप्रपाका मतदातालाई मतदान केन्द्रमा जान नदिएरै बुथ कब्जा गरि मतदान गराएको र स्थगितका लागि निवेदन दिँदा पनि कुनै सुनुवाई नगरि एकतर्फी मतादान गराएको छ।
त्रिवेणी नगरपालिका ८ को मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ता नरेश थापा, चक्र थापा, तिलक रावल, सुरेश थापा र आकास थापाले एमालेका मतदाता प्रभु गिरीमाथि खुकुरी प्रहार गरिमतदान केन्द्रलाई कव्जा लिएर एकतर्फि नेपाली काँग्रेसका कार्यकर्ताले मतदान गरेको तथ्य पेश गरेको छ।
खप्तड छेडेदह गाउँपालिकाको २ र ४ मा सुरक्षा कर्मी र कर्मचारीको सहयोगमा नेकपा एमालेका मतदान प्रतिनिधीलाई कुटपीट गरी मतदानकेन्द्रबाट वाहिर निकाली एकतर्फी मतदान गरेको त्रिवेणी नगरपालिका७ को नाटेश्वरी आधारभूत विद्यालय र ८ को नवदुर्गा आधारभूत विद्यालयमा रहेका मतदान केन्द्रमा नेकपा एमालेका मतदान प्रतिनिधीलाई लखेटी एकलौटी फर्जि मत खसाएको एमालेले बताएको छ।
यस्तै बुढीगंगा नगरपालिका ४ थुमा मावि र ७ को सारद माविमा नेकपा एमालेका मतदान प्रतिनिधीलाई लखेटी कुटपीट गरि एकलौटी फर्जि मत खसाएको जगन्नाथ गाउँपालिका २ र ४ मा पनि एमालेका प्रतिनिधीलाई कुटपीट गरेर बुथ कब्जा गरि मतदान गरेको छ।
हिमाली गाउँपालिका ४ शैलेश्वरी आधारभूत विद्यालय र ५ बागेश्वरी आधारभूत विद्यालय र ६ वडिमालिका माविमा रहेको मतदान केन्द्रमा एमालेका मतदान प्रतिनिधीहरुलाई कुटपीट गरी मतदानकेन्द्रबाट निकाली एकतर्फी मतदान गरिएको र सोहीपालिकाको ६ मा रहेको वडीमालिका माविको मतदान केन्द्रमा दिउसो ३ बजेसम्म १ हजार मात्रै मत खसेकोमा बेलुकी ४ नम्बर वडा फैतीका मानिसहरु गाडी र मोटरसाइकलमा गएर मतदान केन्द्र सम्पूर्ण कव्जामा लिएर गैह्र मतदाताले मतदान गरेको एमालेले तथ्य पेश गरेको छ।
स्वामिकार्तिक गाउँपालिकाको ३ साविक गाविस भवन जुकोटको मतदान केन्द्रमा विहानै देखि हुलदंगा गरी एमालेका मतदाताहरुलाई मतदान केन्द्रमै आउन नदिई मतदानको अधिकारबाट बञ्चित गराएर एकलौटी मतदान गरेको र बुढीनन्ददा ७ र ९ का मतदान केन्द्रमा विहानै देखि हुलदंगा गरी कब्जामा लिएर मतदान गरिएको एमालेले उजुरीमा उल्लेख गरेको छ।
प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचन सम्बन्धी ऐन, कानुन, नियम र निर्देशिका विपरित काम भएकाले मतदान स्थगित गरी पुन मतदानको मिति तोक्न ऐनमौकामै निर्वाचन आयोग, जिल्ला निर्वाचन मुख्य अधिकृतको कार्यालय बाजुरा र सम्बन्धित मतदान केन्द्रमा समयमै प्रक्रिया पुरा गरि निवेदन पेश गरिएकोमा केही मतदान अधिकृतहरुले निवेदन नै च्याति दिएको समेत उल्लेख गरिएको छ।
आफू जित्नका लागि जेपनि गर्ने, प्रहरी प्रशाशनको दुरुपयोग गर्ने, लोकतन्त्रका मुल्य मान्यतालाई समाप्त पार्ने काम नेपाली कांग्रेसका उम्मेद्धवारको तर्फबाट भएको र निर्वाचनको क्रममा भएका सबै घटनामा एमालेका कार्यकर्तामाथि सांघातिक हमला गर्ने काम कांग्रेसका कार्यकता भएकोले पुन भयरहीत वातावरणमा मतदानको माग सहीत उजुरी एमाले उम्मेदवारले गरेका हुन्।
शान्तिपूर्ण निर्वाचनको लागि हामीले प्रतिवादसम्म पनि नगरेको यहीे संयमतालाई कसैले कमजोरी ठानेको छ भने यो धेरै ठूलो भूल व्यहोरा समेत उजुरीमा उल्लेख गरेको छ। सत्ता शक्तिको आडमा जनमतकै अपमान हुने गरि नेकपा एमालेको उजुरीलाई सुनुवाई नगरे अर्को विकल्पमा जाने चेतावनी समेत नेताहरुले दिएका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १३:५४ मंगलबार